‘संविधान बनाऊ’:कविहरु

इनेप्लिज २०७१ माघ ४ गते १:५७ मा प्रकाशित

ea634eeb5178d0125f5609c2b1868a44काठमाडौँ, ४ माघ । साहित्य सन्ध्याको ३४५ औँ कार्यक्रममा कविहरुले कवितामार्फत निर्धारित समयमै संविधान बनाउन जोड दिए ।

‘संविधान बनाऊ’ शीर्षक विशेष कविगोष्ठीमा सन्ध्याका कावा अध्यक्ष रमेश पोखरेल र सदस्य प्रशान्त खरेलले मुलुकमा संविधान नबनेर देखिएको अस्थिरताविरुद्ध अब स्रष्टाले आफ्नो कलमका माध्यमबाट खबरदारी गर्नुपर्छ भन्ने मान्यताका साथ दबाबमूलक  कविगोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।
गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, प्रजिसा सत्याल, प्रज्ञा सिलवाल, निलिसा दाहाल र  जोनी नेपाल तथा कवि गोविन्द वेदमणि, अतृप्त पाण्डेय, पूर्ण विराम, रत्ननिधि शुक्राचार्य, शीतल गिरी, गोपालकुमार मैनाली, डा विन्दु शर्मा, नर्मदेश्वरी सत्याल, नारायण निराशी, जयन्ता पोखरेल, कृष्णदेव रिमाल, प्रदीपरत्न शाक्य, गायत्री विष्ट, नवराज श्रेष्ठ, यशोदा अधिकारी, अशोक सुवेदी, रमेश पाल्पाली,, मुकुन्द न्यौपाने, असीम सागर, ब्रह्मप्रिय प्रेमस्वरूप, भागवत आचार्य, रामप्रसाद प्रसाईँ, रश्मि रिमाल, भोलानाथ सुवेदी, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, प्रेमराज सिलवाल, रोशनकुमार गिरी, बालाकृष्ण अधिकारी, पुण्य गौतम ‘विश्वास’, डम्बरध्वज लिम्बू, प्रेम ओली, गोविन्द नेपाल, जनार्दन धड्कन, भुवन भूकम्प, राजेश चोच्छे, शारदा पराजुली, उर्मिला पन्त पाण्डेय, डिल्लीप्रसाद मुल्तिउन, अविकेशर ओली, प्रमोद स्नेही, ओमप्रसाद कोइराला, रिता निरौला,  डिल्लीराज अर्याल, निरक्षर निरौलालगायत ५३ जनाले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नुभयो ।

बालकवि रुमी नेपालको कविताले निकै प्रशंसा पाएको थियो–
पाएजति मिलेजति स्विकारेर जाऔँ
पछि पनि सुधार गर्ने हुने नै छ ठाउँ
मिलेजति विषयमा सहमति गर
सहमति विपरीत पछाडि नसर ।

वरिष्ठ गजलकार रामबहादुर पहाडी चाहिँ यसो भन्दैहुनुहुन्थ्यो–
विधान बनाउन किन अलमल भइरहेछ
सत्ता लुछाचुँडीमा खलबल भइरहेछ ।

सो अभियानलाई संविधान नबनेसम्म जारी राखिने र अबका कार्यक्रम सडकमै गरिने जनाइएको छ ।

प्रतिक्रिया