मेची पुलमा मानव आवतजावत गर्न अझ एक वर्ष लाग्ने

इनेप्लिज २०७१ माघ ३ गते ७:३८ मा प्रकाशित

mechi-pulभद्रपुर, ३ माघ । झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थित मेची नदीको पुलको निर्माण कार्य पूरा हुन अझ एक वर्ष लाग्ने निर्माणमा जुटेको कम्पनीले जनाएको छ ।

अनक–सूर्या जेविले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ गते रु ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्कामा लिई काम सुरु गरेको थियो ।

मेची पुलको लम्बाइ ५६० मिटर, चौडार्ई ९।८ मिटर डब्बल लेनको अन्तर्राष्ट्रियस्तरको सो पुल नेपाली प्रविधिबाट पहिलोपटक निर्माण हुन लागेको बताइएको छ । पुलको दुवैतर्फ पैदल मार्ग पनि बनिने भएको छ ।

सत्रवटा पिलर रहेको सो पुलमा अहिले १४ वटा पिलरको निर्माण कार्य पूरा भइसकेको छ भने तीनवटा पिलर जमिनबाट माथि उठ्न बाँकी देखिएको छ ।

पिलर निर्माण गर्न कठिनाइ भएपछि ठेकेदारले ड्रगलाइन मेसिन रु ६० लाखमा सिङ्गापुरबाट झिकाएकाले निर्माण हुन बाँकी रहेका तीनवटा पिलर आगामी फागुन महिनासम्ममा निर्माण भइसक्ने ग्रामीण हुलाकीमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर विवेक पाण्डेले जानकारी दिनुभयो ।

निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले नेपाल सरकारबाट भुक्तानी हुने रकममा समस्या नरहेको तर मेची नदीमा वर्षात्को समयमा आउने बाढीले गर्दा बर्सेनि तीन महिना काम रोक्नुपर्ने भएकाले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

निर्माण कम्पनीले अहिले अधुरो पिलर, पुलको बिम तथा नदी नियन्त्रणको काममा तीव्रता दिएको छ ।

नदी नियन्त्रणका लागि पुलको दुवै किनारमा सिरानतर्फ ९०० मिटर र दक्षिणतर्फ ३०० मिटर लम्बाईको क्रेटिङको काम पनि भइरहेको छ ।

सडक डिभिजन कार्यालय दमक र ग्रामीण हुलाकी मार्ग निर्माण योजना कार्यालय इटहरीको नियमित रेखदेख एवम् निरीक्षण भइरहेकाले पुलको गुणस्तरमा कुनै कमि नरहेको प्राविधिकले बताएका छन् ।

पुुल निर्माणमा दक्षिण झापावासीले २००९ सालदेखि नै सङ्घर्ष गर्दै आइरहेका थिए ।

पुल निर्माण गर्न भद्रपुर तथा झापावासीले २०२८ सालमा तत्कालीन युवराज स्व वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणका क्रममा इलाममा आएका बेलामा स्थानीय उद्योगी एवम् समाजसेवी भद्रपुर निवासी मोहनलाल अग्रवालको संयोजकत्वमा बनेको समितिले जनस्तरबाट चन्दा सङ्कलन गरी उठाएको रु २२ लाख ८० हजार भेटी चढाएको कुरा वरिष्ठ पत्रकार एवम् मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जानकारी दिनुभयो ।

त्यो समयमा पुल निर्माण गर्न कुल रु ३७ लाख लागत लाग्ने प्राविधिकहरुले जनाएका थिए ।

नेपाल–भारत ओहोरदोहोर गर्न तथा यहाँको व्यापार व्यवसायलाई उचाइमा पु¥याउन निकै महत्व राख्ने यो पुल निर्माणपछि भारतको सिलीगुडी, किसनगन्ज, ठाकुरगन्ज, तथा बङ्गलादेशसम्म व्यापार र व्यवसायको पहुँच पुग्ने उद्योगी व्यापारी तथा बुद्धिजीवीको भनाइ छ ।

पुलको अभावमा राजधानी बाहिर सबैभन्दा पहिले बनेको भद्रपुर नगरपालिकाले गति लिन सकेन र यहाँ स्थापना भएका उद्योग एवम् कलकारखाना विस्थापित हुन पुगे ।

अहिले पनि मानिसहरुले मेची पुलको अभावमा वर्षात्को समयमा स–शुल्क डुङ्गा चढेर या राँगागाडी चढेर वारपार गर्ने गरेका छन् ।

नेपाल–भारत जोड्ने तथा व्यापार व्यवसायलाई नजिक एवम् सरल र सहज बनाउने मेची पुलको निर्माण कार्य सम्पन्न भएपछि यहाँ उद्योग, व्यापारले गति लिई प्रशस्त रोजगार सिर्जना हुने सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया