क्रसर उद्योग बन्द गराउन ज्ञापनपत्र

इनेप्लिज २०७१ माघ २ गते १०:३२ मा प्रकाशित

Krasar_Udhogविराटनगर, २ माघ । चिसाङ खोला संरक्षण तथा सङ्घर्ष समिति लेटाङ–भोगटेनीले चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

समितिका सहसंयोजक कमलराज राईको नेतृत्वको टोलीले जिल्ला प्रशासनमा बुझाएको ज्ञापनपत्रमा विगत आठ वर्षदेखि ॐ क्रसर उद्योगले नियम विपरीत चिसाङ खोलाबाट उत्खनन र अवैध कारोबार गरिरहेका कारणले यस क्षेत्रका आम जनता, किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा असर परिरहेको उल्लेख गरिएको छ ।

उक्त क्षेत्रमा बाढी, पहिरो र कटानका कारण ४८० घरधुरीका परिवारको अन्नबाली उत्पादनमा ह्रास आएको र वन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको उल्लेख गरिएको छ ।

उक्त ठाउँबाट क्रसर उद्योग हटाउनका लागि स्थानीय ३०६ जनाको सामूहिक हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “अनुरोधको बेवास्ता गरी तत्काल कार्यान्वयन नगरिएमा भैपरी आएको जनधनको क्षतिको जवाफदेही जिल्ला प्रशासन नै हुनेछ ।”

प्रतिक्रिया