लाटोकोसेरो जोगाउन बारपाकमा महोत्सव

इनेप्लिज २०७१ माघ १ गते ७:१६ मा प्रकाशित

laatokoseroगोरखाबजार, १ माघ । गोरखाको पर्यटकीय गाउँ बारपाकमा लाटोकोसेरो महोत्सव हुने भएको छ ।

आउँदो फागुन २२ गते बारपाक–४ स्थित हिमालय उच्च माविको परिसरमा महोत्सव हुन लागेको लाटोकोसेरो महोत्सव मूल आयोजक समितिका संयोजक जीत घलेले जानकारी दिनुभयो ।

फ्रेन्डस अफ नेचर (प्रकृतिका साथीहरु) नामक संस्थाको सहयोगमा महोत्सव हुन लागेको उहाँको भनाइ छ ।

“दुर्लभ हुँदै गएको लाटोकोसेरोको विषयमा विस्तृत जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, घलेले भन्नुभयो, “लाटोकोसेरो संरक्षणका लागि स्थानीयस्तरका स्थानीय बासिन्दालाई सचेत बनाउने हाम्रो योजना छ ।”

साथै महोत्सवको दिन लाटोकोसेरो संरक्षण कसरी गर्ने भन्ने विषयमा निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै लाटोकेसेरोको महत्व र यसलाई लोप हुन नदिने उपाय समेटिएका तस्बिर महोत्सवस्थलभरि टाँसेर प्रचारप्रसार गरिने संयोजक घलेले जानकारी दिनुभयो ।

नयाँ पुस्तालाई लाटोकोसेरोबारेमा धेरैभन्दा धेरै जानकारी दिने उद्देश्यले महोत्सव गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवका लागि गाविस तथा बारपाक र आसपासका सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने तयारी गरेका छन् । महोत्सवका बेला अफ्रिकाका १२ जना लाटोकोसेरो विशेषज्ञ बारपाकमा आउने ‘प्रकृतिका साथी’ नामक संस्थाका राजु अर्यालले जानकारी दिनुभयो ।

“देश विदेशका प्रकृतिप्रेमीको बारपाकमा भेला हुँदैछ”, उहाँले भन्नुभयो, “लाटोकोसेरो धेरै पाइने स्थानमध्येको बारपाकमा महोत्सव गर्ने हाम्रो तयारी हो ।”

प्रतिक्रिया