मुलुकको राष्ट्रिय एकता कायम राख्न चाडपर्वबाट ऊर्जा मिल्छ: राष्ट्रपति

इनेप्लिज २०७१ माघ १ गते २:०९ मा प्रकाशित

rastrapati2काठमाडौँ, १ माघ । राष्ट्रपति डा रामवरण यादवले सबै जातजातिका संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न चाडपर्वहरूले ऊर्जा प्रदान गर्ने बताउनुभएको छ ।

माघी पर्व तथा माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति यादवले आज दिनु भएको शुभकामना सन्देशमा यो पर्वले सबै नेपालीबीच आपसी सद्भाव, प्रेम र शान्ति स्थापना गर्न सफलता प्राप्त गरोस् भन्ने कामना गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, –“माघी पर्वलाई थारू, छन्त्याल र मगर समुदायले आफ्नो प्रमुख चाडका रुपमा मनाउने गरेका भएता पनि यो सबैको साझा पर्व हो । देशका सबै प्रकारका संस्कृतिलाई बचाएर  मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्ने मैले विश्वास लिएको छु ।”

यसैगरी उपराष्ट्रपति परमानन्द झाले माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले नेपाल धार्मिक र सांस्कृतिक विविधताले भरिएको समृद्ध मुलुक भएको बताउँदै विभिन्न चाडपर्वमध्ये माघी पर्व नेपालका थारू समुदायलगायत अन्य समुदायका माझ लोकप्रिय चाडको रूपमा रहेको उल्लेख गर्नुभएको छ । “शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान आजको राष्ट्रिय आवश्यकता हो । यसै सन्दर्भमा यो पुनित चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गर्दछु”– सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति झाले यस पर्वको माध्यमबाट नेपाली–नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया