तिमीसंग अलिकति रँग लिएपछि
मैले हुर्काएँ जीवनभित्र
ईन्द्रेणी र आवाजको नयॉ विरूवा
तिम्रो र मेरो उपस्थिति नहुने हो भने
फिका फिका लाग्ने रहेछन्
सबै रंग र तरँगहरू
मेरो मनभित्र उर्लेको छ
रँगको ज्वालामुखी
तिमी त त्यसै पनि छ्यौ अनन्त रँगिन नदी
तिम्रो र मेरो रँगिन सुगन्ध साटासाटमा
अनुवाद गर्नुपर्छ अब
समयलाई मान्छेका उज्याला अनुहारहरूमा
मैले भर्खरै थाहा पाएँ
संसार त रहेछ
रँगनै रँगको विशाल आकृति
त्यसमा रमेर पौडन जान्नेहरूलेनै
जन्माउन सक्नेरहेछन्
सँसारभित्रनै
अर्को सुनौलो सँसार
एकहुल नानीहरू
रँग भरिएका बेलुनले
हान्दैछन् बटुवाका पाइलाहरूलाई
तिनीहरूले किन कहिल्यै बुझेनन्
हिड्नेको तगारो कहिल्यै बन्न सक्तैनन् रँगहरू
अचेल मान्छेहरू
रँगमा बिभाजन गर्न खोज्दैछन् मान्छेलाई
सिमा र जातको रँगमा टुक्र्याउँन खोज्दैछन् मान्छेलाई
तिमीले र मैले एउटै सप्तरँगी चित्र कोर्यौ भने
बिभाजित हुन सक्तैनन् समय र मान्छे
मान्छे विरूध्दका फरक कित्ताहरूमा
किन किन
अझ लोभलाग्दो र रँगिन बन्दैछ संसार
हाम्रो काउकुतिले
तिमीसंग अलिकति रँग लिएपछि
मैले हुर्काएँ जीवनभित्र
ईन्द्रेणी र आवाजको नयॉ विरूवा
-ग्वँग:बुँ नयॉबसपार्क, काठमाडौ
२०७२ चैत्र ०९
प्रतिक्रिया