महामहिम निवर्तमान राष्ट्रपतिज्यू ,
नमस्कार।
तपाईँ नेपालमा गणतन्त्र स्थापना पछिको पहिलो राष्ट्रपति, झण्डै दुईसय पचास बर्ष सम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति।
तपाई तराईको ग़रीब बस्तीको बिचबाट संघर्ष गर्दै राज्यको सर्बोच्च पदमा पुगेको जनताको छोरा।
हामी गर्व गर्छौ, आज एउटा आम जनताको छोरा, मधेसमा पछि परेको/ पारिएको जनजाति ‘ यादव’ को छोराले ईतिहाँस रच्दै देशको सर्बोच्च पदमा अासिन भएर देशमा जनताको संबिधान घोषणा गरेकोमा।
तपाई पदमा आसिन भएपछि देशले केहि उपलब्धि हात पार्यो केहि गुमायो केहि राजनीतिले गर्दा त केहि प्रकृतिले गर्दा । यो त तपाईं जानुफकार हुनु हुन्छ नै । राजनैतिक आरोह अवरोह र प्राकृतिक प्रकोपले मुलुकको अर्थ ब्यवस्था संगै मनहरु छिया छिया भएको तथ्यांक म संग भन्दा तपाईंसंग आधिकारिक छ हैन र ?
जनताले,जनताको लागि , जनताद्वारा गरिने शासन ब्यवस्था ‘ लोकतन्त्र।’ जनतालाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने ब्यवस्था नै लोकतन्त्र हो भनेर साना साना नानी बाबुहरुले पढिरहेकै छन ।
आज झन्डै पचास लाख भन्दा बढि युवायुवतीहरुले बिदेशमा ज्यान जोखिममा पारेर पसिना संग श्रम साटेर पठाएको रेमिट्यांसले देश चलेको छ , थामिएको छ ।
लोडशेडिंगमा मधुरो टुकी, मैनवत्ती बालेर नेपाल ब्राजिल पछिको दोश्रो ठूलो जलबिद्दुत उत्पादन गर्न सक्ने देश हो भनेर भविष्यका कर्णधारहरुले पढिरहेकै छन, कहिलेसम्म पढ्ने हुन कुन्नि ?
भुकम्प पछि हजारौं जनता अझै पनि आफन्तहरु गुमाएर मुटुमा गाँठो पार्दै च्यातिएको त्रिपालमुनि आधा जिन्दगी बाँचिरहेका छन।
दुर्गम क्षेत्रमा अझै पनि धेरै मान्छेले मोटर देखेकै छैनन, बिकास भन्ने कुन चराको नाउँ हो उनीहरुलाई थाहा छैन। पाँच किलो चामल सित्तैमा होईन, किन्नलाई पनि नेताहरुको सिफ़ारिश चाहिन्छ।
नेपालको त्यही दुर्गम क्षेत्र हो जहाँ एउटी नारी बहुपति प्रथामा आफ्नो शरीर लुटाईरहेकी छे, प्रगतिशील ठानिएको संबिधानको कुनै पनि धाराले उसलाई देख्न सकेको छैन ।
तपाई जन्मे हुर्केको तराईमा अझै पनि बाबुवाद कायमै छ, शिक्षा, स्वास्थ्य र बिकासको सूचक लाज मर्दों छ। विष्वले बिज्ञान प्रबिधिमा जादूमयी फड्को मार्दा हामी भने ‘ खुला दिशामुक्त गा. वि. स./ नगरपालिका घोषणा गरिरहेका छौ, तर अझै पनि तराईमा बिभिन्न संस्थाले बनाईदिएका चर्पीहरुलाई मान्छेहरुले भुसको गोदाम बनाईरहेका छन ।
दिन प्रतिदिन कर्मचारीहरुले अख़्तियार दुरुपयोग गरि अकुत सम्पति आर्जन गरेको समाचार, घुस लिदा लिदै पक्रेको समाचार आएकै छ।
सिंहदरवार/ बालुवाटारमा बहालवाला र भि. आई. पी. हरुको तलब सुबिधा बढाउन चौतर्फी प्रेशर आईरहेको छ, निर्णय बिना भि. आई. पी. हरुलाई बिलासी गाडी, ईन्धन सुबिधा र अन्य सुबिधा दिईएको छ।
पाँच महिना सम्म नागरिकलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने निकम्मा आयल निगमले कर्मचारीहरुलाई नब्बे करोड बोनस बाँड्ने तयारी गर्दैछ। त्यहि आयल निगमका कर्मचारी कालोबजारी गर्छन, कम तेल दिने डिभाईस सेट गर्छन ।
यस्ता कैयौं प्रहसनहरुको लामो लिष्ट तयार हुन्छ , जो एउटा सानो पत्रमा अटाउँदैन त्यसैले खाँटी बिषयवस्तुमा प्रवेश गर्न चाहन्छु। जुन कुराले तपाईको निर्णय त नबदलिएला तर बारम्बार काउकुति भने अवष्य लाग्नेछ ।
महामहिमज्यू,
तपाई पदमा रहुन्जेल जनताले बुझाएको करले जे जति सेवा सुबिधा पाउनुभयो, त्यसमा मलाई गुनासो छैन । तपाईले राज्यलाई नेतृत्व दिने बेलामा पाएका विलासी गाडी, आवास, ईन्धन र अन्य खर्चहरुको जनताले खर्च मागेका पनि छैनन।
मैले जानेसम्म पेशाले तपाई डाक्टर हो, जुन पेशाबाट तपाईले नेपालमा राम्रो कमाउन सक्ने मान्छेले जस्तै कम मेहनत गरेरै काम गर्न सक्नुहुन्छ , तपाईको उमेरका बहुसंख्यक मान्छेहरु पसिना बगाएर ज्यान पालिरहेका छन ।
अझै पनि नेपालमा डाक्टरहरु अपुग छन, तपाईं त झन अनुभवी डाक्टर पनि हुनुहुन्छ। तपाईले कुनै सामुदायिक या सरकारी अस्पत्तालमा निःशुल्क सेवा गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईंको सिप त तिखारिन्छ नै धेरै मान्छेहरुको ज्यान पनि बाँच्न सक्छ ।
तपाई राज्यले उपलब्ध गराउने मासिक एक लाख तीस हजारको भाडाको घरमा बस्नुहुन्छ , तपाईको त आफ्नै घर पनि छ, सरकारले भत्ता पनि दिन्छ , छोरा छोरी नातिनीहरुको पनि राम्रो कमाई छ । तपाईको त यथेष्ट पुर्खौली जायजेथा पनि त छ ।
म केहि उदाहरण दिईरहेको छु :
दक्षिण अमेरिकी मुलुक उरुग्वेका ७८ बर्षे भू.पु. राष्ट्रपति Josse Mujika पनि अझै जीवित छन जो मार्च -१ -२०१० देखि मार्च १ -२०१५ सम्म देशको राष्ट्रपति भए । उनी पदमुक्त पश्चात सरकारी निवासमा बसेनन, उनी उनकी श्रीमतीको सिंगल बेडरूम फ़ार्म हाउसमा बस्छन, १९८७ मोडलको भोल्कसवेगेन कार चढ्छन ।

फोटो: BBC
एउटा साधारण घरमा बसेर आफ्नो तलब भत्ताको नब्बे प्रतिशत च्यारिटीमा खर्च गर्छन । उनको भन्छन: उनी त्यस्तो घरमा बस्न चाहे जहाँ उनको देशका बहुसंख्यक जनताहरु बस्छन । जब कि नेपाल भन्दा धेरै बिकसित र सम्पन्न देश हो उरुग्वे । त्यही सरल जीवनशैलीले गर्दा उनी संसारमै प्रिय छन।
एउटा भनाई छ : राम्रो अभिभावकले राम्रै मार्ग निर्देश गर्छ, भावी पुस्तालाई सहि बाटोमा डोर्याउँछ।
तपाई तीन करोड नेपाली जनताको अभिभावक हो र तपाईंले गरेका हरेक राम्रा कामले राम्रा मान्छेलाई अझ राम्रो गर्न प्रेरणा दिन्छ भने भ्रष्टहरुलाई नैतिक दवाव पर्छ।
त्यसैले हजारौं जनता घरवार बिहीन भएको बेला, लाखौं मान्छेहरुको जीवन कारुणिक भईरहेको बेला तपाई डेरा हैन आफ्नै घर सर्नुस,सरकार संग याचना नगर्नुस । आफ्नै पेशामा फर्कनुस, डाक्टर नपाएर मरिरहेका ग़रीबहरुको ज्यान बचाउनुस, जसले भोलिका निवर्तमान र भू.पु. हरुलाई समेत नैतिक दवाव हुनेछ।
संसारकै शक्तिसम्पन्न देश अमेरिकाका भू. पु. राष्ट्रपतिहरु पनि आफ्नो पुरानो पेशा वा समाजसेवामा अनवरत लागिरहेका छन ।
तपाईं पनि आफ्नो बिशेषज्ञताको पेशामा खटि काम गर्नुभएमा सर्बत्र तपाईको समाजसेवाको प्रशंसा हुनेछ, तपाईको क़द बढ्ने छ । तपाईंको आफ्नै घर र काममा फर्कने निर्णयले एउटा कविता लेख्दैमा राज्यकोषबाट याचना गर्ने देखि देशका सबै भि. आई. पी. हरुको तन्द्रा भंग हुनेछ। प्रधानमन्त्री देखि सभामुख सम्म सबैलाई आफ्नो कार्यकाल पछि आ- आफ्नो पेशामा फर्कन नैतिक दवाब पुग्ने छ ।
किनकि अझै पनि सिटामोल नपाएर मान्छे मरिरहने देशमा क्षमता र योग्यता भएकाहरुले याचना गरेरै देशको ढुकुटी दोहन गर्ने हो भने हाम्रा भावी सन्ततीले तपाईं हामीबाट के सिक्ने ?
त्यसैले आफ्नै घर सर्नुस र आफ्नै पेशामा फर्कनुस । तपाईको सुरक्षा सरकारले गर्छ तपाई जनताको स्वास्थ्यको हेरचाह गर्नुस । यसो गर्नुभो भने तपाई संसारकै सबैभन्दा लोकपृय राष्ट्रपति बन्नु हुनेछ । ईतिहाँसमा तपाईंको नाम स्वर्ण अक्षरले लेखिने छ ।
गर्ने नगर्ने तपाईकै ईच्छा ।
तपाईको शुभचिन्तक
– सरगम भट्टराई
प्रतिक्रिया