भ्रष्टाचार नियन्त्रण सशक्त पार्नु आवश्यक

इनेप्लिज २०७२ फागुन २० गते १:५२ मा प्रकाशित

बैतडी, २० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त ढङ्गले अघि बढाउने बताउनुभएको छ ।

बैतडीमा बुधबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तर्कृया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।

भ्रष्टाचार जानेबुझेको पढेलेखेको व्यक्तिबाटै हुने गरेको छ, उहाँले भन्नुभयो – “भ्रष्टाचार नियन्त्रण गर्न सबैले चनाखो हुनुपर्ने भन्दै समाजलाई सचेत पार्न सचेतनामूलक अभियानमा हामी लागेका छौँ ।”

कार्यक्रममा बोल्दै अधिकांश व्यक्तिले भ्रष्टाचार नियन्त्रणको सुरुवात राजनीतिक क्षेत्रबाटै हुनुपर्नेमा जोड दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सीमा सीमित भएको र भ्रष्टाचार नियन्त्रणमा सरकारी संयन्त्र उदासीन भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा मुलुकको नीति, न्याय क्षेत्रको निष्पक्षता, सञ्चार क्षेत्रको पहुँचमा सार्वजनिक क्षेत्र आदिजस्ता व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुदूरपश्चिमका सेती र महाकाली अञ्चलका सबै जिल्लाबाट अख्तियारको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा दर्ता भएका दुई हजार ३८५ उजुरीमध्ये ७८ दशमलव ७४ प्रतिशत अर्थात् एक हजार ८७८ फछ्र्योट गरिएको छ भने ५०७ बाँकी रहेको कार्यक्रममा बताइएको थियो ।

अदालतमा दर्ता गरिएका मुद्दाअन्तर्गत स्थापनाकालदेखि चालु आवको माघ मसान्तसम्म एक करोड सात लाख छ हजार ८५९ रुपयां २९ पैसा असुल भएको पनि अख्तियारको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षको अवधिमा महाकाली अञ्चलको बैतडीबाट २८३ उजुरी परेकामा २०७ फछ्र्योट भएका छन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र क्षेत्राधिकार विषयमा आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय दिपायलका शाखा अधिकृत तेजप्रकाश जोशीले बोल्नुभएको थियो भने पत्रकार महासङ्घका अध्यक्ष नरेन्द्र भट्टले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया