पाल्पा, १७ माघ । करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन् ।
तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको गुनासो गर्दै आएका हुन् ।
शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिद बिक्री गर्ने नेटवर्किङ व्यवसायमा अवैध लगानी हुँदै आएको हो । यस व्यवसायमा पाल्पाका सयौँ व्यक्तिले करोडौँ अवैध कारोबार गर्दै आएको तथ्य खुलेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा नाफा कमाउने लोभमा रु पाँच लाखदेखि दुई करोडसम्म लगानी गरेको पीडितले बताएका छन् ।
शाक्यमुनि कमोडिटिजका सञ्चालिका घिमिरेले भने स्थानीय व्यक्तिसँग ऋण लिएर सुनचाँदी कारोबारमा नभई घरघडेरी खरिद बिक्री व्यवसायमा लगानी गरेको बताउनुभयो ।
अवैधरुपमा ब्याजको कारोबार सञ्चालन गरेर तानसेनका प्रतिष्ठित व्यापारी, वकिल, व्यवसायीले ठगिएको गुनासो गरेको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताउनुभयो ।
विगत पाँच वर्षदेखि अत्याधिक ब्याज पाउँदै आएका लगानीकर्ताले गत महिनाको पुस मसान्तदेखि पैसा नपाएपछि सञ्चालिका घिमिरेको तानसेनस्थित कैलाशनगरको घर घेराउ गर्दै आएका थिए ।
घर घेराउ गर्दै रकम फिर्ता गर्न दबाब दिएपछि घिमिरेले असुरक्षाको कारण आफू प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो ।
घिमिरेले आफ्नो रु २५ करोडसम्मको कारोबार रहेको बताउँदै बाहिर हल्ला भए जति कारोबार आफ्नो नभएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया