न्यानो कपडा किन्न पच्चीस करोड वितरण

इनेप्लिज २०७२ माघ १० गते ६:४८ मा प्रकाशित

भक्तपुर, १० माघ । जिल्ला प्रशासन कार्यालयले छ वटा नगरपालिकामार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न रु २५ करोड ३१ लाख ५० हजार वितरण गरेको छ ।

भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका २५ हजार ३१५ परिवारलाई रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका निमित्त प्रजिअ शिवराज जोशीले जानकारी दिनुभयो ।

लगतअनुसार २६ हजार २८२ घर पूर्ण क्षति भएको पाइएपनि करिब ३०० घरको नक्कली भूकम्पपीडित रहेको उजुरी परेकाले छानबिनका क्रममा रहेका त्यस्ता घरधनीलाई भने तत्काललाई रकम वितरण रोकेको छ ।

समितिले भूकम्पपीडितलाई रकम बाँड्न भक्तपुर नगरपालिकाकामार्फत रु छ करोड २० लाख ६० हजार, अनन्तलिङ्गेश्वर नगरपालिकाकामार्फत रु तीन करोड १३ लाख १० हजार, नगरकोट नगरपालिकाकामार्फत रु पाँच करोड २० लाख ७० हजार, सूर्यविनायक नगरपालिकाकामार्फत रु तीन करोड ९२ लाख, चाँगुनारायण नगरपालिकाकामार्फत रु पाँच करोड १६ लाख २० हजार र मध्यपुर थिमि नगरपालिकाकामार्फत रु एक करोड ६८ लाख ९० हजार रकम वितरण गरेको छ ।

यसैअन्तर्गत नेपाल रेडक्रस सोसाइटी भक्तपुरमार्फत अनन्तलिङ्गेश्वर नगरपालिकाका ७२४ र नगरकोट नगरपालिकाका चार हजार ८० परिवारलाई रु १० हजारका दरले कूल रु चार करोड ८० लाख ४० हजार वितरण गरेको थियो । एकद्वार प्रणालीअन्तर्गत रकम वितरण गरेकाले रेडक्रसले रकम वितरण गरेको परिवारलाई सरकारले रकम दिएको छैन ।

यसअघि समितिले अस्थायी टहरा निर्माणका लागि भने २६ हजार २८२ परिवारलाई रु १५ हजारका दरले कूल रु ३९ करोड ४२ लाख ३० रकम वितरण गरेको थियो । जसअन्तर्गत रेडक्रसले दुई हजार परिवारलाई रु तीन करोड वितरण गरेको थियो ।

प्रतिक्रिया