बेनी (म्याग्दी), ३० पुस । म्याग्दीका विभिन्न गाउँमा गर्भवती र सुत्केरी अवस्थाका महिलालाई सहयोग गर्ने उद्देश्यले आकस्मिक कोष स्थापना गरिएको छ ।
जिल्लाको बेनी नगरपालिका–३ गौश्वार, ४ बगरफाँट, शिख, भकिम्ली, कुहुलगायतका गाविसमा रहेका आमा समूहहरुको पहलमा आकस्मिक कोष स्थापना गरिएको हो ।
बगरफाँटको प्रगतिशील आमा समूह, गौश्वाराको राधाकृष्ण आमा समूह, शिखको ‘गोसे वराहा आमा समूह’, कुहुको ‘माईथान डडुवा आमा समूह’ र भकिम्लीको ‘देउराली आमा समूह’मा आबद्ध महिलाले आकस्मिक कोष स्थापना गरेको ‘प्रगतिशील आमा समूह’ बगरफाँटकी सचिव सावित्री शाहले बताउनुभयो । गर्भ र सुत्केरी अवस्थामा आर्थिक अभावमा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न कोषको स्थापना गरिएको सचिव शाहले जानकारी दिनुभयो ।
कोषमा आमा समूहका सदस्यबाट प्रतिव्यक्ति मासिक रु ५० सङ्कलन गर्ने गरिएको समूहले जनाएको छ । “गाउँमा गर्भवती र सुत्केरी महिलालाई मासिक भेला बोलाई उनीहरुको स्वास्थ्य अवस्था, सुरक्षित मातृत्व र मातृशिशु स्याहारका विषयमा छलफल हुन्छ” – शिखको गोसे वराहा आमा समूहकी अध्यक्ष नौमाया मगरले बताउनुभयो ।
चन्दा, नाचगान र सदस्यहरुबाट मासिकरुपमा सङ्कलन गरेर गत वर्ष स्थापित कोषमा हालसम्म रु ६० हजार जम्मा भएको अध्यक्ष मगरले जानकारी दिनुभयो । कोषको रकम आर्थिक अभावमा प्रसूति सेवा र पौष्टिक आहारको उपभोग गर्न नसक्नेहरुलाई उपलब्ध गराइने गरिएको छ ।
कोषबाट हालसम्म ३२ जना लाभान्वित भएका देउराली आमा समूहकी अध्यक्ष रेमाया थापाले बताउनुभयो । यसैगरी प्रगतिशील आमा समूह बगरफाँटले पनि कोषबाट नौजना महिलालाई सहयोग गरेको छ भने कोषमा रु ४३ हजार जम्मा भएको समूहले जनाएको छ ।
त्यस्तै गौश्वाराको राधाकृष्ण आमा समूहले १३ जना महिलालाई कोषबाट सहयोग गरेको र कोषमा रु ४० हजार जम्मा भएको जनाएको छ ।
प्रतिक्रिया