सहमतिपछि शव परिवारलाई जिम्मा

इनेप्लिज २०७२ पुष ७ गते १५:१२ मा प्रकाशित

रौतहट, ७ पुस । गत आइतबार सदरमुकाम गौरमा प्रहरीको गोली लागी मृत्यु भएका किशोर मोहम्मद तबरेजको शव चारबुँदे सहमतिपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय तेजापाकड–८ बस्ने १७ वर्षीय तबरेजको गत आइतबार उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको थियो ।

मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिने, परिवाका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र दोषी प्रहरीलाई कारबाही गर्ने सहमति भएको छ । सो सहमतिअनुसार गृह मन्त्रालयका सिफारिस गर्न आवश्यक प्रक्रिया सुरु गरेको पनि सो कार्यालयले जनाएको छ ।

सहमतिपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला अस्पतालबाट शवयात्रा निकालेका थिए । मृतकको शव भोलि मुस्लिम परम्पराअनुसार अन्त्यष्टि गर्ने बुझिएको छ ।

प्रतिक्रिया