अमेरिकाको टेक्सस राज्यको ग्वाडालुप नदीमा शुक्रबार बिहान “ठूलो र खतरनाक बाढीको लहर” देखिएको राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ।
केआर काउन्टीदेखि सान एन्टोनियो खाडीसम्म बग्ने यो नदीमा समयसँगै विभिन्न ठाउँमा छिटो-छिटो पानीको सतह बढ्ने सेवाले जनाएको छ ।
सिएनएनका अनुसार शुक्रबार बिहान ९ बजेदेखि ९:४५ बजेसम्म कम्फर्ट, टेक्सस नजिकै नदीको पानी ४५ मिनेटमै २६ फिट माथि उठेको थियो।
नेशनल ओसियनिक एन्ड एट्मोस्फेरिक एडमिनिस्ट्रेसन( एनओएए)को नापअनुसार यो पानी करिब ३ फिटबाट बढेर झन्डै ३० फिट पुगेको थियो।
केआर काउन्टीका शेरिफको कार्यालयले शुक्रबार बिहानै बाढीका कारण धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ।
“हामीले मृत्युको पुष्टि गर्न सक्छौं, तर आफन्तहरूलाई जानकारी नभएसम्म थप विवरणहरू सार्वजनिक गर्नेछैनौं।” , शेरिफको कार्यालय द्वारा जारी गरिएको सामाजिक सञ्जालमा भनिएको छ ।
उनीहरूले पूरै काउन्टी अहिले “अत्यन्तै सक्रिय घटनास्थल” रहेको बताएका छन्। बासिन्दाहरूलाई घरमै सुरक्षित रहन र यात्रा नगर्न आग्रह गरिएको छ।
काउन्टीले “अत्यधिक, ज्यान लिने खालको बाढी” का कारण आपत्कालीन अवस्था घोषणा गरेको छ।
प्रतिक्रिया