नवलपरासीमा काठ तस्करी बढ्यो

इनेप्लिज २०७२ पुष ७ गते ४:०६ मा प्रकाशित

Nawalparasi_district_locationकावासोती, ७ पुस । नवलपरासीको नवलपुरमा रहेका वन क्षेत्रबाट काठ तस्करी मौलाएको छ । दसैँदेखि विस्तार भएको काठ तस्करी मङ्सिर लागेपछि तीव्र भएको हो ।

मङ्सिर पुस र माघमा यहाँ काठको तस्करी हुने गरिएको छ । बिहान अबेरसम्म कुहिरोले ढाक्ने भएकाले तस्करले यो मौसममा काठको तस्करी गर्ने गरेका छन् ।

राष्ट्रिय र सामुदायिक वनबाट बढी मात्रामा काठ तस्करी हुने गरिएको छ । कावासोती नगरपालिकाको हसौरा, रिठ्ठेपानी धौवादी गाविसका शङ्खदेव, जुकेपानी, देउराली गाविस, तम्सरिया, अरुणखोला, मैनाघाट, हुप्सेकोटलगायतका क्षेत्रबाट बढी मात्रामा काठ तस्करी हुने गरिएको हो ।

काठको तस्करी भएको खबर वन कार्यालयलाई गरे पनि बेवास्ता गर्ने गरेकाले काठको तस्करी बढेको कावासोतीका विक्रम खनालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कावासोतीबाट खटिएका सादा पोसाकका प्रहरीले डन्डाको दीपेन्द्र निमावि स्कुल नजिकबाट बेवारिसे अवस्थामा रहेको सात थान गोलिया बेला फेला पारी सेक्टर वन कार्यालय कावासोतीलाई जिम्मा लगाएको जनाएको छ । ४० किमी क्षेत्रमा अत्यधिक काठको निकासी हुँदा पनि वन कार्यालय मौन भएको गुनासो स्थानीयवासीको छ ।

सेक्टर वन कार्यालय, कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले सामुदायिक वन समूहसँग मिलेर गस्ती गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया