लोपोन्मुख हिउँ चितुवाको सङ्ख्या बढ्यो

इनेप्लिज २०७२ मंसिर १२ गते ४:५२ मा प्रकाशित

snow_leopart-300x225मुस्ताङ, १२ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा लोपोन्मुख हिउँ चितुवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

चार वर्षअघि हिउँ चितुवा लोप हुँदै गएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले विभिन्न साझेदार निकायसँग मिलेर जिल्लाभर ‘वन हरियाली’ कार्यक्रम सञ्चालन गरेपछि हिउँ चितुवाको सङ्ख्या बढेको हो ।

चार वर्षअघि देखिनै मुस्किल पर्ने हिउँ चितुवा पछिल्लो समय मानव बस्तीमा प्रवेश गर्ने, भेँडा, चौरी लगातका पशुचौपायालाई आक्रमण गर्ने र जङ्गलमा बथान हिँड्ने गरेको देखिन थालेका छन् ।

एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले कार्यक्रम अवधिभर स्थानीयस्तरमा हिउँ चितुवाको महत्वका विषयमा जानकारी, वनजङ्गल संरक्षण र वन्यजन्तुको अवैध चोरीसिकारी रोक्न गरिएको प्रयास सफल भएको बताउनुभयो । “एक्यापले युएसएआडीलगायतका सङ्घसंस्थाको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो, यसले जलवायु परिर्वतनको असर न्यूनीकरणदेखि वन्यजन्तुको संरक्षण बढी जोड दियो,” उहाँले भन्नुभयो – “हिउँ चितुवालाई आहारकै समस्या हो । अहिले जङ्गलमा पर्याप्त आहार भएको पाइएको छ । हिउँ चितुवाको सङ्ख्या बढ्नु कार्यक्रमको सकरात्मक पक्ष हो ।”

मुस्ताङको चराङ गाविसको चराङ गाउँमा केही समयअघि ६/७ वटाको समूहमा आएको हिउँ चितुवाको आक्रमणबाट स्थानीय दलबहादुर शेरचनले पालेको ४० भन्दा बढी भेडाच्याङ्ग्रा मरेका थिए । खासगरी चराङसहित घमी, कागबेनी, छोण्हुप, छोसेरलगायतका क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या बढेको अनुमान विज्ञले गरेका छन् । “दिनदहाडै जङ्गलमै हिउँ चितुवाको लुकामारी देख्न सकिन्छ, हिउँ चितुवा मानव बस्तीतिर आउने त्रास पनि बढेको छ,” एक्याप प्रमुख शेरचनले भन्नुभयो – “कुन ठाउँमा कति हिउँ चितुवा छ भनेर अध्ययन गर्न लागेका छौँ ।”

प्रतिक्रिया