बैतडी, २६ असोज । भरुवा बन्दुक पड्किँदा दार्चुलाको अपी नगरपालिका–१० का दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा नौ वर्षीया बालिका दीपलक्ष्मी बडाल र १० वर्षीय बालक महेशसिंह महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । गम्भीर घाइते बालिका बडालको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताउनुभयो । उहाँले भन्नुभयो “बालिकाको छातीमा गोली लागेको छ र घाइते बालकको निधारमा गोलीको लागेको छ ।”
उनीहरुका आफन्तले गोली लागेको बारे केही नबताए पनि घाइतेको घाउ अवस्था हेर्दा गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरीको एक टोली घटनास्थल गएको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।
प्रतिक्रिया