गौशाला, १२ असोज । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले अनिश्चितकालीन मधेस बन्द गरेर थालेको आन्दोलनका क्रममा मृत्यु भएका अमित कापरको परिवारलाई जिल्लाका दुई वटा गाउँका बासिन्दाले सहयोग गरेका छन् ।
महोत्तरीको जलेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको जलेश्वर–१४ बखरीका कापरको परिवारलाई सोमबार जिल्लाका हर्दिया गाउँवासीले सहयोग प्रदान गरेका हुन् ।
हर्दिया युवा क्लबको सक्रियतामा हर्दिया पूरै गाउँबाट विभिन्न खाद्यान्न सामग्री सङ्कलन गरेर अति गरिब कापरको परिवारलाई सहयोग गरिएको हो ।
त्यसैगरी सोमबारै जिल्लाको भटौलिया पूर्वारी टोलवासीले स्थानीयस्तरमा सङ्कलन गरेको सहयोग सामग्री र पैसा कापरको परिवारलाई बुझाएको छ ।
मृतक कापर ट्र्याक्टरका चालक रहेका थिए भने उनका, हजुरबुबा, बुबा, आमा, चार साना भाइ, एक श्रीमती र एक छोरी रहेका छन् ।
उनी परिवारका एक्लो आम्दानीकर्ता रहेको उनका हजुरबुबा हरि कापरले बताउनुभयो ।
प्रतिक्रिया