अमेरिकी विदेश सचिव रुबियोको घोषणा : फ्लोरिडामा भएको युक्रेन वार्ता ‘निकै फलदायी’, तर धेरै काम बाँकी

इनेप्लिज २०८२ मंसिर १५ गते २०:५३ मा प्रकाशित

अमेरिकी विदेश सचिव मार्को रुबियोले युक्रेनका उच्च अधिकारीहरूसँगको आइतबारको बैठकलाई “निकै फलदायी र उपयोगी” भएको बताएका छन्, तर शान्तिका लागि अझै धेरै काम बाँकी रहेको स्वीकार गरे।

फ्लोरिडामा भएको यो लामो बैठकपछि रुबियोले भने, “यो युद्ध अन्त्य गर्ने कुरा मात्र होइन, यो युक्रेनको सुरक्षित भविष्यको बारेमा पनि हो। हामी चाहन्छौं कि युक्रेन पहिलेभन्दा धेरै समृद्ध बन्न सकोस्।”

अमेरिकी र युक्रेनी टोलीहरूले युद्ध अन्त्य गर्ने सर्तहरूमा मात्रै होइन, युक्रेनलाई लामो समयसम्म समृद्ध बनाउने आधारहरूमा पनि काम गरिरहेको उनले बताए। यसअघि जेनेभामा सुरु गरिएको कामलाई आजको बैठकले थप अगाडि बढाएको उनको भनाइ छ।

युक्रेनी प्रतिनिधिमण्डलका प्रमुख रुस्तम उमेरोभले पनि यो बैठकलाई “उत्पादक र सफल” भनेका छन्। उनले भने, “हाम्रो लक्ष्य एक बलियो र समृद्ध युक्रेन हो। हामीले युक्रेनका लागि महत्त्वपूर्ण सबै विषयमा छलफल गर्यौं र अमेरिकाको पूर्ण सहयोग पायौँ।”

यसबाहेक, रुबियोले शान्ति सम्झौताका लागि रुसलाई पनि ‘समीकरणको हिस्सा’ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भने शान्ति वार्ता नाजुक र जटिल छ किनभने यसमा अर्को पक्ष (रुस) पनि संलग्न छ। यसै हप्ता विशेष दूत स्टिभ विट्कोफ रुसको राजधानी मस्को जाने अपेक्षा गरिएको छ। रुबियोले अमेरिका रुसी पक्षको धारणाबारे जानकार रहेको पनि बताएका छन्।

प्रतिक्रिया