चिराइतो बिक्री नभएपछि किसान मर्कामा

इनेप्लिज २०७२ असोज ६ गते ९:५१ मा प्रकाशित

chiraitoइलाम, ६ असोज । चिराइतो बिक्री नभएपछि कृषक मर्कामा परेका छन् ।

चिराइतो बिक्रीमा एक्कासि गिरावट आएपछि कृषक निरास बनेका हुन् । उत्पादित चिराइतो बिक्री गर्ने समस्या भएपछि किसानले यसको विकल्प खोज्न थालेका छन् ।

खाली ठाउँमा चिराइतोखेती लगाएर आम्दानी लिँदै आएका उत्तरी क्षेत्रका जमुना, मावु, माइमझुवा, सुलुबुङ, माइपोखरी, चमैता, पुवामझुवा, नयाँबजार, जोगमाई, प्याङलगायतका एकदर्जन गाविसका कृषकको चिराइतो नबिकेर यतिबेला त्यसै गोदाममै थन्किएको छ ।

विगत एक दशकदेखि चिराइतो उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएका सुलुबुङका युवराज पौडेलले भन्नुभयो “गत वर्षदेखिकै चिराइतो बिक्री हुन नसकेर गोदाममा थन्किएको छ ।” बिक्री गर्न तयारी अवस्थामा राखिएको चिराइतोमा विभिन्न प्रकारका भाले चिराइतो मिसाइएका कारण गुणस्तरहीन सामग्री बिक्री गर्न समस्या भएको हो ।

चार वर्षअघि प्रतिमन (४० किलो) रु ३० हजारको हाराहारीमा बिक्री भएको चिराइतो गएको वर्ष रु २० हजारमा पनि बिक्री हुन हम्मेहम्मे परेको कृषक बताउँछन् । जडीबुटी उत्पादक सहकारी संस्था र व्यापारीले झापाको काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई चिराइतो बिक्री गरेको छन् ।

ढुवानी खर्च कटाउँदा कृषकको हातमा रु १२ देखि रु १५ हजारसम्म हात परेको छ । केही कृषकले बिक्री गरे पनि अहिलेसम्म पैसा पाउन सकेका छैनन् । भारतीय व्यापारीलाई दिएको पैसा नआउँदा कृषकलाई दिन नसकिएको स्थानीय व्यापारी बताउँछन् ।

पछिल्लो समय चिराइतोमा विभिन्न रोगको सङ्क्रमणसमेत देखिएको छ । दुई वर्षअघि गरिएको एक अध्ययनका अनुसार ढुसी र खुम्ले, डाँठ काट्ने सुँडे किराको महामारी देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

गत आव २०७१÷७२ मा यहाँबाट एक हजार ५०० मन चिराइतो उत्पादन भई निर्यात गरिएको थियो । जिल्ला वन कार्यालयका अनुसार गत आवमा ४२ हजार ८९५ किलो चिराइतो निकासी भएको छ ।

सीमावर्ती क्षेत्रबाट अवैध रूपमा चिराइतो निकासी हुने क्रम अझै नरोकिएको कृषक बताउँछन् । इलामबाट चिराइतो झापाको काँकडभिट्टा हुँदै भारतको कलकत्ता, दिल्ली र सिलिगुढी पुग्छ ।

प्रतिक्रिया