पुस्तक समीक्षा

संवत् २०८२ साउन १६ गते शुक्रबारको दिनको ३ बजे सिद्धार्थ कटेज, तीनकुने काठमाडौँमा दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा कवि गणेश ज्ञवालीद्वारा रचित ‘कर्ण’ गीतिकाव्यको लोकार्पण समारोह आयोजना गरिएको थियो । म पनि स्रोताका रूपमा आमन्त्रित थिएँ । म समयमा नै पुगेँ । तोकिएको समयभन्दा केही समयपछि कार्यक्रम सुरु भयो । कार्यक्रमको अध्यक्षता दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त (गुल्मी) ले गरेका थिए भने प्रमुख अतिथिमा प्रदीप ज्ञवाली (गुल्मी), विशेष अतिथिमा लीलामणि पौड्याल (गुल्मी), समीक्षकमा वाल्मीकि विद्यापीठमा प्राध्यापक डा. भागवत ढकाल (गुल्मी) र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामप्रसाद ज्ञवाली (गुल्मी), कृतिकार गणेशज्ञवाली (गुल्मी) का क्रमशः शुभकामना, समीक्षा र मन्तव्यसहित लोकार्पणको कार्यक्रम समापन भएको थियो । संयोगवश कार्यक्रम सञ्चालन गरिएको स्थान सिद्धार्थ कटेजका सञ्चालक पनि गुल्मीकै रहेछन् । गुल्मेलीको कार्यक्रममा म कस्केली स्रोताका रूपमा उपस्थित भएको थिएँ, एक थान पुस्तक उपहार पनि पाएँ । यसै पुस्तकको अध्ययनपश्चात् मेरो अनुभूतिलाई पुस्तक समीक्षाको रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
गणेशप्रसाद ज्ञवाली साहित्यमा गणेश ज्ञवालीका रूपमा लेख्ने गर्छन् भन्ने कुरा मैले वि.सं. २०७० सालमा मात्र थाहा पाएको हुँ । गणेश ज्ञवालीलाई मैले प्रशासक गणेशप्रसाद ज्ञवालीका रूपमा मात्र चिन्दथेँ । उहाँको साहित्यिक व्यक्तित्वका बारेमा म परीक्षा नियन्त्रण कार्यालयको नियन्त्रक हुँदा मात्र चाल पाएँ । ज्ञवाली शिक्षा मन्त्रालयको प्रशासन महाशाखाको सहसचिव थिए ।
एसएलसी परीक्षा, २०६९ को नतिजा प्रकाशनका समयमा ज्ञवालीलाई मैले आमन्त्रण गरेको थिएँ । वि.सं. २०७० मा पाठ्यक्रम विकास केन्द्रले कक्षा ७ र ८ को कक्षागीत लेखनका लागि मेरो संयोजनमा गीत तथा कविता लेखनमा संबद्ध केही व्यक्तित्वसहितको समिति गठन गर्यो । सो समितिमा गणेशप्रसाद ज्ञवाली पनि थिए । त्यसै समयमा मैले ज्ञवालीको कविताप्रतिको रुचि र कवित्व क्षमता आँकलन गरेको थिए ।
लामो समय स्थानीय विकास अधिकारीको जिम्मेवारी निर्वाह गरेका ज्ञवाली सहसचिव भएपछि मेरो भेट शिक्षा मन्त्रालयमा भयो । संवत् २०७० मङ्सिरमा मेरो सरुवा शिक्षा मन्त्रालयको अनुगमन महाशाखामा भयो । हामी दुवै मन्त्रालयका सहसचिव भयौँ, एउटै मन्त्रालय फरक फरक महाशाखा प्रमुख ।
मन्त्रालयको कामको सिलसिलामा मेरो नेतृत्वमा मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारीहरू सङ्घीयता कार्यान्वयनको अवस्थाको अध्ययन गर्न एक टोली मलेसिया गयौँ । त्यस टोलीको सहनेतृत्व गणेशप्रसाद ज्ञवालीले गरेका थिए । हामी दुवै जना होटलको एउटै कोठामा पनि बस्यौँ, सँगसँगै घुम्यौँ, सँगसँगै प्रतिवेदन तयार ग¥यौँ । त्यससमय पनि साहित्यका विभिन्न सन्दर्भमा छलफल हुने गथ्र्यो । ज्ञवाली विशेष गरी कविता र निबन्धका कुरा गर्न रुचाउँथे । सानै उमेरदेखि कविता लेखनमा कलम चलाएका ज्ञवालीका विभिन्न पत्रपत्रिकामा रचना प्रकाशित भएका रहेछन् ।
ज्ञवाली गीत लेखनमा पनि सिद्ध हस्त भएको कुरा मैले कक्षागत गीत लेखन तथा परिमार्जनमा थाहा पाएँ । शब्द शब्द कुँद्ने र क्षेकानुप्रास, वृत्तानुप्रास र अन्त्यानुप्रास जस्ता विभिन्न अनुप्रासलाई अधिक रूपमा गीतमा प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्थे ज्ञवाली । ज्ञवालीका पुस्तकका रूपमा वि.सं. २०६० मा यो ‘पानी कस्तो बेइमान’ निबन्ध सङ्ग्रह र २०६५ मा ‘माटोको माया’ कविता सङ्ग्रह प्रकाशित छन् । ‘कर्ण’ गीतिकाव्य ज्ञवालीको तेस्रो प्रकाशित कृति हो ।
हाइकु, बाछिटा, मुक्तक, गीत, गजल, कविता, खण्डकाव्य (गीतिकाव्यसमेत) लामो कविता, महाकाव्य आदि कविताका विविध रूप हुन् । यसर्थ, गीत कविताको एक विशेष रूप वा प्रकार हो भन्न सकिन्छ ।
सङ्गीतसँगको सम्बन्धका कारण गीत कविताभन्दा अलि फरक देखिन्छ । गीत गेयात्मक हुने र गाउनका लागि लेखिने भएकाले गीतमा लय, सुर, ताल तथा भावको संगम हुने गर्छ । शब्दहरूको लयबद्ध अभिव्यक्तिलाई गीत भनिने भएकाले गीतमा लयको प्रधानता रहन्छ । गाउने उद्देश्यका लागि लेखिएको रचनाविशेष भएकाले गीत लयबद्ध हुन्छ । अभिव्यक्ति सरल रूपमा हुनु र एउटै विषयवस्तुमा केन्द्रित हुनु, मन छुने शब्द हुनु गीतका विशेषता हुन् । कविता भएर पनि भावमा अत्यन्त तरलता हुनु र कविताको लघुत्तम रूप भएर पनि काव्य तथा महाकाव्यसम्म बिस्तार हुनु कविताका थप विशेषता हुन् ।
लय तत्त्वका आधारमा गीत कवितादेखि छुटिन्छ । गीतमा प्रत्येक पङ्क्तिमा आउने अक्षरहरूको संयोजनबाट लय सिर्जना हुन्छ । हुनतः कवितामा पनि लय हुन सक्छ, कविताको साध्य लयभन्दा पनि विचार साध्य हुन्छ । गीतमा लय अनिवार्य हुन्छ र संगीतको प्राधान्यका कारण गीतमा भावका साथ लय साध्य हुन पुग्छ ।
गीत लय, ताल र भावको सङ्गम हो । यो साहित्यिक मात्र होइन, साङ्गीतिक अभिव्यक्ति पनि हो । गीतमा शब्दहरू निकै मिहिन ढङ्गले कुँदिएको हुन्छ जसले गर्दा पढ्दा वा गाउँदा मिठास आउँछ । गीतमा सरल र सुबोध्य शब्दको प्रयोगका कारण गीतले व्यक्ति व्यक्तिको भावनालाई स्पर्श गर्न पुग्छ ।
गीत सुन्नासाथ बुझिने हुनुपर्छ । यसको अर्थ गीत सरल, बोधगम्य, सुबोध्य हुनुपर्छ । यसका लागि कविले गीतमा प्रचलित शब्दको प्रयोग अधिक रूपमा गर्नुपर्छ । गीतमा अनुप्रास अति आवश्यक हुन्छ, यसले गीतको भाषालार्ई मिठास र सजीवता मात्र बनाउँदैन, लयलाई पनि मिठास बनाउन सहयोग गर्छ । गीतमा अन्त्यानुप्रासको मात्र होइन, क्षेकानुप्रास, वृत्तानुप्रास र अन्त्यानुप्रास जस्ता अनुप्रासहरूको ओहिरो नै लाग्नुपर्छ ।
गीतिकाव्य कविताको खण्डकाव्य विधाअन्तर्गत नै पर्दछ । गीत र गीतिकाव्य अर्थात गीतिकवितामा केही अन्तर भने हुन्छ । गीतमा सामान्यतयाः स्थायी र अन्तरा हुने गर्छ । स्थायीमा मूल भाव र अन्तरामा मूल भावलाई थप स्पष्ट पार्ने काम गरिएको हुन्छ । गीत सूत्रात्मक हुन्छ भने गीतिकाव्यको आयाम अलि लामो नै हुन्छ । गीतको स्थायीले नै केन्द्रीय भाव प्रकट गर्छ । गीतिकाव्यमा पहिलो परिच्छेद वा बिसौनीले केन्द्रीय भाव प्रकट गर्दैन । पहिलो परिच्छेदले गीतिकवितामा स्थायी र
अन्तरा हुँदैन, यसमा पहिलो परिच्छेदले विषय आरम्भ गरेपछि दोस्रो, तेस्रो, चौथो हुँदै अगाडि बढ्छ ।
नेपालमा लोकलयमा आधारित गीतिकाव्यका रूपमा निकै लोकप्रिय रहेको काव्य हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौंरी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’ जस्ता खण्डकाव्यमा गीति लय प्रचुर मात्रमा पाइन्छ ।
कविताका मुख्य गरी तीन लय प्रचलित छन्ः लोकलय, शास्त्रीय लय र मुक्त लय । काव्यका तीन लयका स्वरूपअन्तर्गत गणेश ज्ञवालीको ‘कर्ण’ गीतिकाव्य लोकलयमा आधारित छ ।
गणेश ज्ञावलीको ‘कर्ण’ गीतिकाव्य उपजीव्य काव्यअन्तर्गत पर्दछ । उपजीव्य काव्य कुनै कृतिलाई आधारमानेर रचना गरिएको हुन्छ । यस्ता काव्यमा कवि तथा लेखकले मौलिक कथा पस्केको हुँदैन, पुरानो मिथक, आख्यान वा पहिल्यै रचना गरिएका ग्रन्थ वा काव्यका कथावस्तु, चरित्र वा पात्र, घटना आदिलाई आधार मानेर सिर्जना गरिएको हुन्छ । कहिलेकाहीँ लेखक वा कविले मूल ग्रन्थका पात्र, घटना वा कथावस्तुलाई जस्ताको तस्तै लिने गरेको पाइन्छ भने कहिलेकाहीँ परिमार्जन, बिस्तार वा परिवर्तित रूपमा पनि प्रस्तुत गरेको पाइन्छ ।
उपजीव्य काव्य मूल स्रोतमा आधारित हुन्छ । उपजीव्य काव्य सिर्जना गर्दा मूल स्रोतभन्दा भिन्न शब्द, शैली, लय वा परिवेश सन्दर्भमा परिवर्तन गरी प्रस्तुत गरिएको हुन्छ । उपजीव्य काव्य पूर्ण मौलिक कृति भने होइन, यसमा केही रूपान्तरण भने हुन्छ । यस्तो परम्परा नेपाललगायत भारतमा पनि प्रचलित छ । नेपाली साहित्यका भानुभक्त आचार्यको ‘रामायण’, लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’, सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’, गणेश ज्ञवालीको ‘कर्ण’ यसै परम्परामा सिर्जना भएका उपजीव्य काव्य हुन् ।
ज्ञवालीको ‘कर्ण’ गीतिकाव्य ‘महाभारत’ महाकाव्यको कथाका एक पात्र कर्णको कथामा आधारित छ । नेपाल तथा भारतमा ‘महाभारत’ को कथा प्रायः सबैलाई जानकारी भएको विषय हो । भारतीय टेलिसिरियल ‘महाभारत’ को प्रभाव नेपाली समुदायमा पनि छ । त्यसैले ‘महाभारत’ को कथा पढेर, सुनेर र टेलिसिरियल हेरेर मानिसहरूले कर्णका सम्बन्धमा धारणा बनाएको पाइन्छ । ‘महाभारत’ का यही पात्र कर्णलाई विषयवस्तु बनाएर कवि ज्ञवालीले कर्ण गीतिकाव्य सिर्जना गरेका छन् ।
लेखक तथा कवि ज्ञवालीले ‘मेरो भनाइ’ शीर्षकमा कर्ण गीतिकाव्यका सन्दर्भमा भनेका छन्ः “यसमा जोडिएका कतिपय घटना र पात्रहरूले पूर्वजन्मको कर्मसँग पनि सरोकार राखेको पाइन्छ, तर यो गीतिकाव्य महाभारतका एक महत्त्वपूर्ण पात्र कर्णलाई केन्द्रविन्दुमा राखेर रचना गरिएकाले कथावस्तु पनि त्यसैको वरिपरि घुमेको छ (पृ. ४१) ।” कथावस्तु पौराणिक भए पनि प्रस्तुतिगत शैली भने नवीन छ ।
यदुवंशी शूरसेनले आफ्ना फुपूका छोरा कुन्तीभोजका सन्तान नभएकाले छोरी पृथालाई धर्मपुत्रीका रूपमा पालन गर्न दिएका थिए । कुन्तीभोजका घरमा हुर्किएकाले पृथाको नाम पनि कुन्ती भनेर सम्बोधन गर्न थालियो । ‘कर्ण’ गीतिकाव्यको विषयप्रवेश पहिलो बिसौनीमा कुन्तीभोजको घरमा दुर्वासा ऋषिको आगमन भएपश्चात् कुन्तीले सेवा गरेको सन्दर्भबाट हुन्छ । कुरुक्षेत्रको युद्धमा किसानको श्रापको परिणाम कर्णको रथको पाङ्ग्रा जमिनमा भासिएको र महर्षि परशुरामको श्रापका कारण अप्ठ्यारो बेलामा मन्त्रोचारण गर्दा पनि मन्त्र बिर्सिएर अस्त्र प्राप्त नभएको अवस्थामा अर्जुनको बाणबाट कर्णको मृत्युपश्चात् गीतिकाव्य समापनतिर लाग्छ । यसबिचमा कर्णसम्बद्ध महाभारतका कथालाई गीतिलयमा प्रस्तुत गरिएको छ ।
गीतिकाव्यमा सबै श्लोकहरू सन्देशमूलक, गेयात्मक र रसिला छन् । कतिपय श्लोकहरू सुक्तिपय छन्, कतिपय उखान टुक्का जस्ता छन् । कर्णको सानै उमेरदेखि खेलेर सिक्ने र सिकेरै खेल्ने स्वाभाव थिया भन्ने कुरालाई कविले यसरी भनेका छन्ः
“खेलेर सिक्ने सिकेरै खेल्ने कर्णको स्वभाव
खेलौना त्यस्तै पु¥याइ दिन्थे थिएन अभाव” (२M१४, पृ. ५५)।
सबै जीवलाई सन्तान सबैलाई प्यारो हुने कुरालाई कविले यसरी भनेका छन्ः
“स्वभाव सबै जीवको उस्तै सन्तानै पियारो
पानीको बानी फर्किन्न माथि खोज्दछ ओरालो” (२M१७, पृ. ५६) ।
सिक्ने र सिकाउने दुवैमा एकै चिन्तन भएमा सिकाइ प्रभावकारी हुन्छ भन्ने विषयलाई झरनाको
गतिको उपमा दिँदै कविले भनेका छन्ः
“सिकाउने सिक्ने दुवैमा एकै चिन्तन रहन्छ
सिकाइगति झरनाजस्तै अगाडि बहन्छ” (४M५, पृ. ६५) ।
युद्धकला केवल लडाइका लागि मात्र होइन, नागरिकको जीउज्यान र सम्पदा रक्षाका लागि
उपयोग हुन्छ भन्ने सन्देश कविले यसरी दिएका छन्ः
“युद्धको शिक्षा लाग्दछ काम सम्पदा जोगाउन
लाग्दछ काम आएमा शत्रु पछाडि भगाउन” (४M६, पृ. ६५) ।
गुरुको धर्म र शिष्यको कठोर मिहेनत शिक्षाका लागि आवश्यक हुन्छ भन्दै कवि भन्छन्ः
“गुरुको धर्म दिने हो शिक्षा त्यै शास्त्रसम्मत
कठोर लागोस् सिक्नु नै पर्छ गरेर हिम्मत” (४M९, पृ. ६६) ।
वर्तमान समयमा सिकाइको सिद्धान्तमा गरेर सिक्ने ९ीभबचलष्लन दथ म्यष्लन० निकै प्रचलित
छ । गरेर सिकेको कुरा बिर्सिदैँन र लामो समयसम्म स्मरण रहन्छ । कविले शस्त्रास्त्र र युद्धकला
पढेरभन्दा गरेर सिक्ने विद्या हो भनेर यसरी व्यक्त गरेका छन्ः
“पढेरभन्दा गरेर सिक्नु झन् राम्रो मानिन्छ
काममा स्वयं लागेर सिक्दा बिर्सिन्न भनिन्छ” (४M१०, पृ. ६६) ।
कविले सिकाइका सिद्धान्तलाई अर्को श्लोकमा पनि व्यक्त गरेका छन् । थर्नडाइक नामका शिक्षा मनोवैज्ञानिकले ‘प्रयत्न र भूल सिद्धान्त (Trail and Error Theory) प्रतिपादन गरेका थिए । प्रयास गर्दै जाँदा भूल घट्दै जाने र कार्यकुशलता बढ्दै जाने हुन्छ । हरेक भूललाई सिकाइका रूपमा ग्रहण गर्नु पर्छ भन्ने थर्नडाइकको सिद्धान्त थियो । यस्तै किसिमको अभिव्यक्ति यस गीतिकाव्यमा पाइन्छः “भूलले सिक्दै जो बढ्छ अघि ऊ पुग्छ टाकुरा झर्दैमा पात सुक्दैन रुख उमार्छ आँकुरा” (४M२८, पृ. ७१) ।
औजार तिखारेर वा साँध लगाएर धारिलो बने जस्तै जति अप्ठेरो काम गर्दै गयो उति ज्ञान र सिप धारिलो हुँदै जान्छ र शरीर पनि दरिलो हुन्छ भन्ने सन्देशलाई कविले यसरी व्यक्त गरेका छन्ः
“औजार पनि तिखारेमात्र बन्दछ धारिलो
अप्ठेरो काम गरेरै बन्छ शरीर दरिलो” (५M१, पृ. ७२) ।
कवि नेपाली उखान तुक्कालाई आफ्नो अभिव्यक्तिमा निखारता ल्याउन उपयोग गर्न पछाडि परेका
छैनन् । द्रौपदीको चीरहरणका समयमा चुपचाप बसेका भीष्म, द्रोणाचार्य, कृपाचार्य, कर्ण जस्ता युद्धकलामा
पोख्त रथी तथा महारथीलाई व्यङ्ग्य गर्दै कवि लेख्छन्ः
“सहनै पर्ने हानेको लात दुहुनो गाईको
दर्बार बसी उनैको मानो नून त्यै खाएको” (८M८, पृ. ९५) ।
आगो भर्भराउँदा वा काग कराउँदा गाउँघरमा पाहुना आउने वा घरको मानिस बाहिरबाट घर फर्किने
विश्वास गरिन्छ अझै पनि । यो सत्य नहुन पनि सक्छ, तर यसले गाउँले जनजीवनमा प्रभाव चाहिँ पारेको
पाइन्छ । कविले यसै बिम्बलाई कर्ण शिक्षा आर्जन गरी घर फर्कदाको प्रसङ्गमा यसरी उपयोग गरेका
छन्ः
“आमाले भन्छिन् बिहान आगो गरेथ्यो भर्भर
कराउँदा काग लागेथ्यो शङ्का क्यै छ कि खबर” (६M२, पृ. ८०) ।
कर्णको जन्ममा जैविक पिता सूर्य र जैविक माता कुन्ती भए पनि लालनपालन गर्ने पिता हस्तिनापुरका राजा धृष्टराष्ट्रका सारथि अधिरथ र माता राधा थिइन् । परशुरामसँग शस्त्र विद्या सिकेर आएपछि हस्तिनापुरमा सिकेको कला प्रदर्शन गर्न जाने रहर गर्दै कर्णले पिता अधिरथसँग अर्जुनको क्षमताका सम्बन्धमा सोधेका थिए । त्यस समय पिता अधिरथले बताएको कुरा कविले यसरी उल्लेख गरेका छन्ः
“नहेरी हान्छन् तोकेको ठाउँ इशारा बुझेर
गाण्डीव धनु चल्दछ जब को जित्छ जुधेर” (६M११, पृ. ८२) ।
गीतिकाव्यकारले अर्जुनले गाण्डीव धनु चलाउने कुरा त उल्लेख गरेका छन् । यो गाण्डीव धनु खाण्डव वन दहनको प्रसङ्गमा प्राप्त भएको थियो । यो धनुका साथ अक्षय तरकस (बाणको ठोक्रो) र दिव्य रथ पनि भएको कुरा महाभारतको आदिपर्वको श्लोक ५०१ मा उल्लेख गरिएको छ ।
द्रोणाचार्यले आफ्ना शिष्यहरूको कौशलको प्रदर्शन गर्न रङ्गभूमिमा ल्याएर परिचय गराएपछि कर्णले अर्जुनसँग प्रतिस्पर्धा गर्ने चाहना राखे । कृपाचार्यले द्वन्द्वयुद्धको नियम बताउँदै राजकुलमा जन्मेको व्यक्तिको प्रतिद्वन्द्व गर्न पनि राजकुलमा जन्मेकै हुनुपर्छ भने । खाण्डव वन दहनको समयमा प्राप्त भएको हुँदा हस्तिनापुरमा द्रोणाचार्यका राजकुमार शिष्यहरूको युद्ध कलाको सिप प्रदर्शनको समयमा सायद अर्जुनलाई गाण्डीव धनु प्राप्त भएको थिएन । अर्जुनलाई गाण्डीव धनु प्राप्त नहुँदैको कुरा पिता अधिरथले पुत्र कर्णलाई कसरी बताए होलान् भन्ने कुराले संशय उत्पन्न भएको छ गीतिकाव्य पढ्दा ।

यस्तै, लेखकले महाभारतको कथाको विस्तृत अध्ययन गरेको देखिदैँन । हुनतः लेखकले ‘मेरो भनाइ’ मा लेखेका छन्ः म न महाभारतको ग्रन्थको जानकार हुँ न त सम्पूणै ग्रन्थको पाठक नै । टेलिभिजनमा हेरेको धारावाहिकमा कर्णको जीवनका बारेमा जे जति जानकारी पाएँ, त्यत्तिले नै यी पात्रका बारेका लेख्न झक्झक्यायो । यत्रो गीतिकाव्य लेख्ने क्षमता भएका कविले एक दुईपटक महाभारतलाई पढिदिएको भए यस्तो त्रुटि हुँदैनथ्यो होला । लेखकको अध्ययनको असावधानीवश परशुराम ऋषिलाई क्षत्रिय भन्न पुगेका छन् । कवि भन्छन्ः
“बाहुन ऋषि यी द्रोणाचार्य शस्त्रात्र पढाउने
क्षत्रिय ऋषि परशु भने ध्यानमा रमाउने” (९M२८, पृ. १०८) ।
शास्त्रीय मान्यताअनुसार विष्णुका छैटौँ अवतार परशुराम मूलतः ब्राह्मण कुलमा जन्मिएका थिए र उनी ब्राह्मण थिए । महर्षि जगदग्नि र राजकन्या रेणुकाका पुत्रको रूपमा परशुरामको जन्म भएको थियो । भगवान् शिवबाट परशु प्राप्त गरेर युद्धकला सिकेका परशुरामले पृथ्वीको एक्काइस पटक परिक्रमा गरी अन्याय र दम्भी क्षत्रियहरूको संहार गरेको कथा पुराणमा वर्णित छ ।
महाभारतको कथामा परशुरामलाई शस्त्रविद्याका महान् गुरु मानिन्छ । भीष्म, द्रोणाचार्य र कर्णले परशुरामबाट नै युद्धविद्या सिकेका थिए । उनलाई अष्ठ चिरञ्जीवीमध्येका एक मानिन्छ । परशुराम ब्राह्मण वंशका भएर पनि आफ्नो कार्य, साहस र युद्धकलाका कारण उनलाई ब्राह्मण र क्षत्रिय दुवै स्वरूपमा हेर्ने पनि प्रचलन थियो । महाभारतकालमा युद्धकला भनेको क्षत्रिय धर्मअन्तर्गत पथ्र्यो ।
उनलाई ब्राह्मणमुनि र क्षत्रियवीर पनि भन्ने चलन थियो । परशुराम वंशका हिसाबले ब्राह्मण, स्वभावका हिसाबले क्षत्रिय र धार्मिक हिसाबले ऋषिका रूपमा देखिन्थे । हुनतः द्रोणाचार्य ब्राह्मण भएर पनि कुरुक्षेत्रको युद्धमा कौरवतर्फका सेनापति भएर लडेका थिए ।
यस हिसाबले ‘म न महाभारतको ग्रन्थको जानकार हुँ न त सम्पूर्ण ग्रन्थको पाठक नै । टेलिभिजनमा हेरेको धारावाहिकमा कर्णको जीवनका बारेमा जे जति जानकारी पाएँ, त्यत्तिले नै यी पात्रका बारेका लेख्न झक्झक्यायो’ भन्ने भनाइले मात्र गीतिकाव्यकारलाई छुट दिन सकिदैँन । आगामी संस्करणमा परिमार्जन गर्नुपर्ने देखिन्छ, अवश्य परिमार्जन पनि हुनेछ ।
गणेश ज्ञवाली स्वच्छन्दतावादी कवि हुन् । भूमिका लेखक प्रा. डा. रामप्रसाद ज्ञवालीका शब्दमा कवि ज्ञवालीको गीतिकाव्यमा स्वच्छन्दतावादी लेखनशैलीमा रचना गर्ने प्रवृत्ति भएकाले उहाँका रचनामा भाषिक कोमलता तथा अनुभूति र भावको स्वतःफूर्त अभिव्यजना पाइन्छ (पृ. ९) । पश्चिममा अङ्ग्रेजी कविहरू कलरिज, शेली, वर्डस्वर्थ, बाइरन, किट्स जस्ता स्वच्छन्दतावादी जस्तै नेपालमा यसको अधिक प्रयोग महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । ‘कर्णको उचाइ’ शीर्षकमा शुभकामना दिदैँ रामप्रसाद पन्तले भनेका छन्ः गणेश ज्ञवालीद्वारा रचना गरिएको कर्ण नामक उक्त गीतिकाव्यले कताकता देवकोटालाई सम्झाएको र मुनामदन को सुगन्ध मगमगाएको महसुस गरिएको छ (पृ. ३६) । कवि ज्ञवालीको स्वच्छन्दतावादभित्रको परिष्कृत शैली हो । कवितामा निकै मिहेनत गरी गरी शब्द छनोट गर्ने र ती शब्दहरूलार्ई माझेर टल्काउने प्रवृत्ति कवि ज्ञवालीको छ । ‘कर्ण’ गीतिकाव्य कविताको रूप हो । प्रा. डा. रामप्रसाद ज्ञवालीका अनुसार कविताविधामा पर्ने भएकाले आधारभूत रूपमा कविता हुनुमा नै खण्डकाव्यको विधागत मौलिकता सुरक्षित हुन्छ । यस दृष्टिले प्रस्तुत गीतिकाव्य पनि प्रथमतः कविता हो (पृ. ११) ।

गीतिकाव्यमा आञ्चलिक शब्दको उपयोग पर्याप्त गरिएको छ । यसै सन्दर्भमा कवि भन्छन् यो गीतिकाव्य भएकाले यसमा कथ्य र आञ्चलिक शब्दहरूको प्रयोग धेरै भएको छ । महाभारतजस्तो विशाल ग्रन्थको एउटा पात्रलाई केन्द्रमा राखेर त्यसैको वरिपरि घुमी उच्चारण वा वाचनमा लय मिसाउन गीतिभाका हालिएकाले व्याकरणका केही तगाराहरू नाघिएको पनि हुन सक्छन् (पृ. ४२) । यस गीतिकाव्यमा प्रयोग भएका आञ्चलिक शब्दहरू हुन्ः सन्जेको, कुरकुरे, कुत्कुती, भत्भती, निदरी, छक्काल, सुर्जे, पाहुर, कुरौटे, रछ्यान, उजेलो, दैलो, पग्रियो, उफारी, घस्दिए, मिच्छिन्न, घुर्की, आग्लो, टुसायो, डहर, कल्चौडा, गहुँत, आङमा, जाँघमा, दर्किने, भर्भर, कम्सल, निर्धो, खर्लप्प, गिनती, हरुवा, जितुवा, दोमन, छिचोली, गिजोली, गरुङ्गो, सत्तुर, तुस, विखको, बेर्ना, खाँबो, हेपेर, बिलो, थचार्ने, तगारा, हेय, किपट, बेघर, च्याँखे, लम्पट, लाछी, कायर, कुमति, टर्रो, निम्छरो, बिनती, समर, मति, खति, साखुल्ले, एकर्का, मिर्ग, झोसेर, अचाक्ली, फुर्किन्छ, ढाडस, अँधेर हुनामी, तुष्टि, कन्याए, हन्डर, हकार्न, बरा, झेल, अनाडी, धरि, ।
नेपाली भाषामा त्यति चलन नभएको शब्द ‘अऋणी’ लाई कविले औचित्यपूर्ण किसिमले प्रयोग गरेका छन् । कवि भन्छन्ः
“अऋणी हुने यो बेला ममा नआओस् दुविधा मित्रका लागि म घात गरूँ ? त्याग्छु यो सुविधा” (८M२९, पृ. १००)
एकघ्नी, प्रत्यञ्चा जस्ता खासै प्रचलनमा नआएका शब्द पनि कवि ज्ञवालीले यस गीतिकाव्यमा उपयोग गरेका छन् ।
‘कर्ण’ गीतिकाव्य लोकलयको झ्याउरे छन्दमा आधारित छ । जम्मा एघार बिसौनीमा लेखिएको यस काव्यमा चार पाउको एक श्लोक मान्दा २८२ श्लोकहरू छन् । पहिलो बिसौनीदेखि एघारौँ बिसौनीसम्म १,१२८ पाउ छन् । सबैभन्दा बढी पाँचौ, आठौँ र नवौँ बिसौनीमा २९÷२९ श्लोक र ११६÷११६ पाउ रहेका छन् । सबैभन्दा कम एघारौँ बिसौनीमा १९ श्लोक र ७६ पाउ रहेका छन् । श्लोक संख्याका आधारमा हेर्दा परिच्छेदअनुसार श्लोकको समानुपातिक वितरण देखिदैँन ।
‘कर्ण‘’ गीतिकाव्यको पुस्तक १२० पृष्ठको भए पनि गीतिकाव्यको वास्तविक सुरुवात ४५ पृष्ठबाट मात्र भएको छ । यसको अर्थ गीतिकाव्यको मूल विषय जम्मा ७५ पृष्ठमा समेटिएको छ । पृष्ठ ५ देखि ३५ सम्म ३० पृष्ठ प्राध्यापक डा. रामप्रसाद ज्ञवालीको ‘कवि गणेश ज्ञवाली र हारेर पनि जित्ने काव्यनायक कर्ण’ शीर्षकको भूमिकाले ओगटेको छ । कृतिको प्रकाशन दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले गरेको र त्यस संस्थाका अध्यक्ष रामप्रसाद पन्तको ‘कर्णको उचाइ’ शीर्षकमा प्रकाशकीय ५ पृष्ठमा लेखिएको छ । साथै, ‘मेरो भनाइ’ शीर्षकमा गीतिकाव्यका रचनाकार तथा कवि गणेश ज्ञवालीको ३ पृष्ठको भनाइ समेटिएको छ । यसरी हेर्दा गीति काव्यको मूल विषयवस्तुभन्दा बाहिर ४४ पृष्ठ भूमिका, प्रकाशकीय र लेखकीय भनाइमा ओगटेको देखिन्छ । पुस्तकको मूल्य २५१ रूपैयाँ राखिएको छ ।
वर्तमान समयमा कृति प्रकाशन गर्दा भूमिका र प्रकाशकीय लेख्ने चलन घट्दै गएको र लेखकको भनाइ पनि मूल सिर्जना सकिएपछि पछाडिको पृष्ठतिर राख्ने चलन बढ्दै गएको परिप्रेच्छमा यति लामो लेखन किन रोजिएको होला भन्ने प्रश्न ‘कर्ण’ गीतिकाव्य पढ्ने पाठकमा उब्जिन्छ । गीतिकाव्यको कथा भूमिका पढ्दै आउने भएकाले महाभारतको कथा पढिसकेको पाठकका लागि यति लामो भूमिका पढ्नु आवश्यक हुँदैन, सिधैँ गीतिकाव्य पठन सुरु गर्दा हुन्छ । महाभारतको कथा थाहा नभएका पाठकका लागि भूमिका पढेर मात्र गीतिकाव्य पढ्दा आनन्द आउने छ ।
समग्रमा एकै बसाइका पढेर सकिने यो गीतिकाव्य रुचिपूर्ण छ, पठनीय छ, सङ्ग्रहणीय छ । कवि ज्ञवालीको यो कृति पढ्नका लागि वि.सं. २०६५ पछिको १७ वर्ष कुर्नु परेजस्तो कुर्नु नपरोस् । नयाँ कृति छिट्टै पढ्न पाइयोस् । कवि गणेश ज्ञवालीलाई शुभकामना ।
कृतिः ‘कर्ण’
कृतिकारः गणेश ज्ञवाली
विधाः गीतिकाव्य
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान
संस्करणः पहिलो, २०८२
पृष्ठः १२०
मूल्यः रु २५१÷–
प्रतिक्रिया