मध्य टेक्सासको पहाडी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले कम्तीमा ९० जनाको ज्यान लिएको छ भने दर्जनौं अझै बेपत्ता छन्।
ग्वाडालूपे नदीको पानी शुक्रबार बिहान एक्कासि दुई तले भवन बराबरको उचाइसम्म पुग्दा बाढीले गम्भीर क्षति पुर्याएको हो।
नदी किनारमै रहेको शिविर मिस्टिक नामक बालबालिका ग्रीष्मकालीन शिविरबाट मात्रै झण्डै दर्जन बालबालिका अझै बेपत्ता छन्।
केर काउन्टीका शेरिफ ल्यारी लिथाका अनुसार हालसम्मका ९० मृत्यु मध्ये ७५ जना केर काउन्टीमै भएका हुन्। तीमध्ये ४८ जना वयस्क र २७ जना बालबालिका रहेका छन्, जसमा १५ वयस्क र ९ बालबालिका अझै पहिचान नभएका छन्।
शिविर मिस्टिकले पुष्टि गरेअनुसार उनीहरूको कम्तीमा २७ जना बालिकाहरु र प्रशिक्षकको ज्यान गएको छ।
शिविर मिस्टिकले वक्तव्यमा भनेको छ। “स्थानीय तथा राज्य अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं, जसले बेपत्ताहरूको खोजीमा अथक प्रयास गरिरहेका छन्। सबै तहका समुदाय, सुरक्षाकर्मी र अधिकारीहरूबाट पाएको सहयोगप्रति हामी आभारी छौं।”
हालसम्म १० बालबालिका र १ प्रशिक्षक अझै हराइरहेका छन्। बाढी आएको बेला शिविर मिस्टिकमा झण्डै ७५० बालबालिका रहेका थिए।
प्रतिक्रिया