यमनका बन्दरगाह र ग्यालेक्सी जहाजमा इजरायली आक्रमण

इनेप्लिज २०८२ असार २३ गते १:१७ मा प्रकाशित

इजरायली सेनाले यमनका तीन प्रमुख बन्दरगाहहरूमा हवाई आक्रमण गरेको छ । जसलाई उनीहरूले हूथी विद्रोहीहरूले ईरानी हतियार ओसार्न प्रयोग गर्दै आएको आरोप लगाएका छन्।

इजरायली रक्षा बल (आइडिएफ)ले एक विज्ञप्तिमा भनेको छ, “ती बन्दरगाहहरू ईरानबाट हतियार आपूर्ति गर्न प्रयोग गरिँदै आएका छन्।”

यसै आक्रमणमा आइडिएफले ग्यालेक्सी लिडर नामक जहाजलाई पनि निशाना बनाएको दाबी गरेको छ जुन नोभेम्बर २०२३ मा हूथी विद्रोहीहरूले नियन्त्रणमा लिएको थियो।

त्यो जहाजमा रहेको चालक दललाई दुई महिनासम्म बन्धक बनाएर जनवरी २०२५ मा इजरायल–हमास युद्धविराम सम्झौताअनुसार मुक्त गरिएको थियो।

आइडिएफअनुसार, हूथीहरूले सो जहाजमा ‘राडर प्रणाली’ जडान गरेर अन्तर्राष्ट्रिय समुद्री मार्गमा अन्य जहाजहरूको निगरानी गर्दै आएका थिए, जसले “आतङ्कवादी गतिविधि” सहज बनाएको थियो। हूथी पक्षले इजरायली आक्रमणलाई ‘प्रभावकारी रूपमा प्रतिकार गरिएको’ दाबी गरेका छन् ।

यो हमला यति बेला भएको हो जब ईरान र इजरायलबीचको १२-दिने युद्धपछि भएको युद्धविराम अझै कमजोर अवस्थामा रहेको छ। अर्कातर्फ इजरायल र हमासबीच गाजा युद्ध रोक्न र बाँकी २० बन्धकमध्ये केहीलाई रिहा गराउने उद्देश्यले दोहा (कतार) मा वार्ता जारी छ।

इजरायली प्रधानमन्त्री नेतान्याहु सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गर्ने तयारीमा छन्।

प्रतिक्रिया