मध्य टेक्ससमा आएको भीषण आकस्मिक बाढीले ७८ जनाको ज्यान लिएको छ । एपीले पछिल्लो जानकारीको अध्यावधिक गर्दै मृत्यु हुनेहरुमा २८ जना बालबालिका परेको जनाएको छ । क्याम्प मिस्टिक नामक बालिका ग्रीष्मकालीन शिविरमा कम्तीमा १० बालिका र एक प्रशिक्षक अझै बेपत्ता छन्।
शेरिफ ल्यारी लिथाले बताएअनुसार केवल केर काउन्टीमा मात्र ६८ शव भेटिएको छ। बाँकी १० मृतक टेक्ससका अन्य पाँच काउन्टीहरू — ट्राभिस, बर्नेट, केन्डल, टम ग्रिन र विलियमसनमा भेटिएका हुन्। अधिकारीहरूका अनुसार मृतक संख्या अझै बढ्न सक्छ।
गभर्नर ग्रेग आबोटले राज्यभर हालसम्म ४१ जना अझै सम्पर्कविहीन रहेको र आगामी दिनहरूमा झन ठूलो वर्षाले थप बाढी ल्याउन सक्ने चेतावनी दिएका छन्।
आईतबारदेखि पीडित परिवारहरूलाई शिविरमा प्रवेश गर्न दिइएको छ। उद्धार कार्यमा जुटेका अधिकारीहरूले जबसम्म सबै भेटिंदैनन्, खोजी जारी रहने बताएका छन् ।
प्रतिक्रिया