अमेरिकाको टेक्सस राज्यमा आएको भिषण बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ। यो बाढीले धेरै घरहरू बगाएको छ भने धेरै शिविरहरू (क्याम्पहरू) ध्वस्त पारेको छ।
क्याम्प मिस्टिक नामको एउटा बालिकाहरूको ग्रीष्म शिविरमा बाढीले ठूलो क्षति पुर्याएको छ। यो शिविरबाट ११ जना बालबालिका र एक जना शिक्षक अझै हराइरहेका छन्। उद्धारकर्मीहरूले कठिन ठाउँहरूमा पनि बेपत्ता मानिसहरूको खोजी जारी राखेका छन्।
शेरिफ ल्यारी लिथाका अनुसार केर काउन्टीमा मात्र शनिबार दिउँसो देखि १६ वटा शव फेला परेका छन्। यसले गर्दा केर काउन्टीमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ, जसमा २१ जना बालबालिका छन्। उनले शुक्रबारको बाढीबाट हराएका सबै मानिसहरू नभेटिएसम्म खोजी जारी राख्ने बताएका छन्।
बाढीका कारण ट्राभिस काउन्टीमा ४ जना, बर्नेटमा ३ जना, केन्डलमा २ जना र टम ग्रीन तथा विलियमसन काउन्टीमा १-१ जनाको मृत्यु भएको छ।
आइतबार बिहानदेखि बाढी प्रभावित शिविरमा परिवारहरूलाई हेर्न अनुमति दिइएको थियो। एकजना बालिकाले एउटा ठूलो घण्टी बोकेर भवनबाट बाहिर निस्किन्। एकजना मानिसले आफ्नो छोरीलाई शिविरको सबैभन्दा अग्लो ठाउँको एउटा कोठाबाट बचाएको बताए।
राष्ट्रिय मौसम विभागले दक्षिण-मध्य टेक्ससका धेरै ठाउँमा बाढीको आकस्मिक चेतावनी (फ्लाड वाच) लम्ब्याएको छ। आज यस क्षेत्रमा धेरै इन्च पानी पर्ने सम्भावना छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले केर काउन्टीका लागि ‘ठूलो विपत्ति घोषणा’ मा हस्ताक्षर गरेको जानकारी दिएका छन्। यो घोषणाले उद्धारकर्मीहरूलाई खोज र उद्धार कार्य जारी राख्न आवश्यक स्रोतसाधनहरू उपलब्ध गराउन मद्दत गर्नेछ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुश जो सन् १९९५ देखि २००० सम्म टेक्ससका गभर्नर पनि थिए । उनले आफू र आफ्नी श्रीमती “दुःखमा परेका आफ्ना टेक्ससका साथीहरूलाई साथ दिइरहेका बताएका छन्। पूर्व राष्ट्रपति बाराक ओबामाले पनि गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया