नागरिकताबाट कोही बन्चित नहुने

इनेप्लिज २०७२ असोज २ गते १२:०४ मा प्रकाशित

nagariktaकाठमाडौँ, २ असोज । नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहुने व्यवस्था गरेको छ ।

असोज ३ गते (भोलि)बाट लागू हुने नयाँ संविधानको भाग–२ मा नागरिकतासम्बन्धी हकको व्यवस्था गर्दै नेपालमा प्रादेशिक पहिचानसहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरेको छ ।

यस संविधानले संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र संविधानबमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू सबै नेपालको नागरिक हुने व्यवस्था गरेको छ ।

संविधानसभाबाट पारित संविधानमा शुक्रबार सभासद्ले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणीकरण गर्नुभएको थियो । प्रमाणीकरण गरिएको संविधान आइतबार (भोलि) विशेष समारोहबीच राष्ट्रपति डा रामवरण यादवले जारी भएको घोषणा गर्र्नुहुनेछ ।

यस संविधानले संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति, कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिक मानेको छ । यसमा दलहरुबीच लामो समयसम्म ‘वा’ राख्ने कि ‘र’ राख्ने भन्नेमा लामो विवाद भई अन्तमा ‘वा’ राख्ने सहमति भएको थियो । यसले नागरिकतामा थप अधिकार पाएको भन्दै महिलाहरु खुसी भएका छन् ।

संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछ । नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।

संविधानले धारा ११ को उपधारा (५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई पनि वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्ने प्रावधान राखेको छ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुनबमोजिम अङ्गीकृत नागरिकतामा परिणत हुने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्नेछ । विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान संविधानमा छ ।

यसबाहेक संविधानले सरकारले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्रदान गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । सरकारले सङ्घीय कानुनबमोजिम सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ । संविधानअनुसार नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति सङ्घीय कानुनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।

धारा १२ ले संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरेको छ, जुन प्रावधानले आमाको नामबाट पनि नागरिकता लिने कानुनी बाटो खालेको छ ।

संविधानले धारा १३ मा नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने भनी उल्लेख छ भने धारा १४ मा गैरआवासीय नेपालीलाई सङ्घीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै धारा १५ मा प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया