अमेरिकाको इलोनोइ राज्यको बिश्व प्रसिद्ध शहर शिकागोको डाउनटाउन अर्थात् मुख्य बजार क्षेत्रमा रहेको ‘आर्टिस लाउन्ज’ नामक नाइट क्लब बाहिर बुधबार राति डरलाग्दो गोलीकाण्ड भएको छ। यो घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब ११ बजे एउटा कालो गाडीमा आएका व्यक्तिहरूले नाइट क्लब बाहिर जम्मा भएका मानिसहरूको भीडलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएर भागेका थिए। यो भीड र्यापर मेलो बकजको गीतिसंग्रह विमोचन भोज सकेर क्लबबाट बाहिरिँदै थियो।
सिबिएसन्यूजका अनुसार गोली लागेर ज्यान गुमाउनेहरूमा २४ वर्षीय पुरुष, २५ वर्षीय पुरुष र दुई जना महिला रहेका छन्। घाइते हुनेहरूको उमेर २१ देखि ३२ वर्षसम्मका छन्। घाइतेमध्ये कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शिकागोका अधिकारीहरूले यस घटनामा धेरै व्यक्ति संलग्न भएको बताएका छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
सन् २०२० को नोभेम्बरमा पनि यही ठाउँमा गोलीकाण्ड भएको थियो। त्यो बेला यो क्लबलाई ‘हश लाउन्ज’ भनेर चिनिन्थ्यो। सो घटनामा एक जनाको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।
प्रतिक्रिया