जि.पि.ए. (लघुकथा)

कोमल प्रसाद अधिकारी लम्कीचुहा-२,कैलाली। २०८२ असार १९ गते १०:३६ मा प्रकाशित

निशा, हामी यो के सुन्दैछौँ छिमेकी अनुको भन्दा तिम्रो जिपिए कम आयो रे हो? आमा र हजुर-आमाले एकै स्वरमा प्रश्न गरे निशालाई।अब त्यो छिमेकी उर्मीसँग कसरी मुख देखाउनु नि? त्यसै त हेप्थी हाम्लाई, अब त झन् छोरीको नम्बरले भुइँमा न भाँडामा हुने भई, निशाले जवाफ दिन त के पाउँनु, दुबै भुत्-भुताउँदै निशाको कोठाबाट हुर्रिँदै निस्किए।

‘थोरै कम आ’को त हो नि अनु भन्दा’ भन्न के पाएकी थिई निशाले खाना खाने बेलामा,आमा र हजुर-आमाले खाऊँला झैँ गरी के रे? थोरै कम आ’को रे?जति कम आए पनि तँलाई जिति हाली,हामीलाई जित्नी भई हाली त्यसकी आमाले…. निशालाई बेकारमा बोलेँ झैँ लाग्यो मनमनै…।


“आमा,म साथीसँग घुम्न जाऊँ?, सबै पास हुने जति घुम्न जाने भनेका छन्,मलाई सोध्दै थिए…” ‘पर्‍या छैन जानु, ल्याउने बेलामा सँगैकी अनुभन्दा कम नम्बर ल्याउँछेस्,के को घुम्नु?’

“निशाको पनि यसपालि एस.ई.ई. हैन? रिजल्ट के आयो त्यसको? पल्ला गाउँकी शोभाले त सोचे भन्दा कम जिपिए आयो भनेर त्यसकी आमाले कराएकी रे, घरै छोडेर हिँड्दी रे,२ दिन भो, नभेटेको रे” दिदी नाता पर्ने र भेट्न आएकी सुष्माले एकै सासमा निशाको आमालाई यो कुरा सुनाइन्। यो सुन्ना साथ आमाचाहिँ निशाको कोठातिर कुद्छिन् ,निशालाई देख्नासाथ छोरी! भन्छिन्… निशा निकै डराउँछिन् र आमालाई भन्छिन् :”आमा, म अर्को साल फेरि पढ्छु र अनुलाई जित्छु,मलाई गाली नगर्नु है”भन्दै रून थाल्छे..

“हामीलाई माफ गरी दे छोरी,तैँले भाइलाई सिकाएर,खाना बनाएर,भैँसीलाई घाँस काटेर ल्याएको यो जिपिए देखि हामी धेरै खुशी छौँ,त्याँ माथि त्यति धेरै जिपिए ल्याउने तँ छोरी महान् होस्,ईर्ष्याले गर्दा हामीले आँखा देखेनौँ र तँलाई गाली गर्न पुग्यौँ,हामीलाई माफ गरी दे!” भन्दै अँगालो हाल्न थाल्छिन्..
“त्यसो भा’ आज फेरि अर्की साथीले घुम्न जाउँ भनेकी छ,जाऊ त?” पुरानै पारामा छोरीलाई देखेर प्रफुल्ल हुँदै छोरीको हातमा पैसा राख्दिन्छिन् निशाकी आमाले,पल्लो कोठाबाट यो सबै कुरो सुनी रहेकी हजुरआमा पनि कुद्दै कोठामा आउँछिन् हातमा केही राख्दै भन्छिन्: “ला यो मेरो तर्फबाट….”

प्रतिक्रिया