दर्शकहरुको पर्खाईको चलचित्र “कोशेढुंगा” आउँदो भदौ १२ गते (अगस्त २८) मा एकैपटक संसारका ४५ भन्दा धेरै देशमा प्रदर्शन हुने भएको छ। यो अहिलेसम्मकै कुनै पनि नेपाली चलचित्रको इतिहासमा पहिलो पटक यति धेरै देशमा एकैचोटि प्रदर्शन हुँदैछ।
यसको जानकारी चलचित्र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको सेभेन सिज इन्टरनेसनल सामाजिक संजाल पन्ना( फेसबुक पेज)मा दिइएको छ। चलचित्र प्रदर्शन हुने देशहरूको तालिका पनि सार्वजनिक गरिएको छ ।
‘पूर्ण बहादुरको सारंगी’ जस्तो सफल चलचित्र बनाएका निर्देशक सरोज पौडेलले नै यो चलचित्र निर्देशन गरेका हुन्। उनकै लेखन र निर्देशनमा बनेको ‘कोशेढुंगा’ ले ‘पूर्ण बहादुरको सारंगी’ मन पराउने दर्शकहरूको चाहनालाई ध्यानमा राखेको बुझिएको छ।
यो चलचित्रमा खेम सेन्चुरी, आशिष अविरल, अस्मिता अधिकारी लगायतका गायकहरूको आवाजमा गीतहरू छन्। यस्तै, चलचित्र आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, रिचा शर्मा, सरोज खनाल, मन्जिल कुमार, कृष्ण काफ्ले लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
प्रेविल कडेल र किशोर अनुराग यस चलचित्रका निर्माता हुन्। निदेश अधिकारी प्रमुख सल्लाहकार हुन् भने दिनेश खड्का कार्यकारी निर्माता छन्। ‘कोशेढुंगा’ लाई नरदेवी फिल्मसले प्रदर्शनमा ल्याउन लागेको हो।
प्रतिक्रिया