ट्रम्पको ऐतिहासिक विधेयक अनुमोदनको दिशामा, डेमोक्र्याट्सको अवरोधबीच रिपब्लिकनमा एकता

इनेप्लिज २०८२ असार १५ गते ११:४१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो, सुन्दर विधेयक’ अमेरिकी सिनेटको पहिलो परीक्षणमा पारित भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो, सुन्दर विधेयक’ अमेरिकी सिनेटको पहिलो परीक्षणमा पारित भएको छ। रिपब्लिकनहरूबीच चर्को बहस र तनावपूर्ण छलफलपछि ९४० पृष्ठ लामो यो विधेयक ५१–४९ मतले प्रक्रिया अगाडि बढाउन स्वीकृत गरिएको हो।

सिनेटमा रिपब्लिकन बहुमत नेता जोन थुनले मात्र तीन मत गुमाउन सक्ने अवस्थामा थिए। अन्तिम क्षणमा सिनेटर रोन जोनसनले ‘हुन्छ ’ मा मत फेरेर नाटकीय मोड ल्याए। उपराष्ट्रपति जेडी भान्सलाई निर्णायक मत अर्थात् टाइ-ब्रेकिंग मतका लागि बोलाइए पनि अन्ततः उनी केवल समन्वयकर्ताको भूमिकामा रहे।

तर, विधेयकमाथि तुरुन्तै बहस सुरु हुने छैन। डेमोक्र्याटका नेता चक शुमरले पूरै विधेयक सार्वजनिक रूपमा पढ्न लगाउने योजना गरेका छन् ।

विधेयकमाथि सबै एकमत छैनन्। चिकित्सा ,ऊर्जा कर छुट,ग्रामीण अस्पतालका लागि कोष जस्ता विषय विवादका केन्द्रमा छन्।सम्झौताका रूपमा केही परिवर्तन गरिएको फक्सन्यूजले जनाएको छ ।

जस्तै मेडिकेड कर दरलाई एक वर्ष पछाडि सारियो, र ग्रामीण अस्पतालका लागि पाँच वर्षमा २५ बिलियनको राहत कोष प्रस्ताव गरियो।

मेडिकेड भनेको कम आय भएका अमेरिकी नागरिकका लागि सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम हो ।

रिपब्लिकन नेताहरूले अब भोट -ए -रामा अर्थात् धेरै संशोधनमाथि एकपछि अर्को गर्दै गरिएको मतदानको लामो प्रक्रिया प्रयोग गरेर संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। अन्तिम मतदान सोमबार बिहानसम्म टुंगिने सम्भावना छ । त्यसपछि विधेयकलाई जुलाई ४ भित्र राष्ट्रपति ट्रम्पको टेबलमा पुर्‍याउने तयारी भइरहेको छ।

“विधेयक असफल हुनु राष्ट्रपतिको विश्वासघात हुनेछ,” ट्रम्प प्रशासनको नीति पत्रमा भनिएको छ।

प्रतिक्रिया