लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरू

इनेप्लिज २०८२ असार १४ गते १०:५५ मा प्रकाशित

काठमाडौँ ।

बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ । लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै तारिफ गरे ।

‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई पन्च तत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मदत गरेको छ । मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु । म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझैँ उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने ।

आगामी असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको क्युरेटर मिशेल लामाले जानकारी दिईन् ।

प्रदर्शनीमा मिथिला चित्रकलालाई प्रस्तुत गरेकी कलाकार रश्मी कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकहरूलाई प्रकृति प्रति साझा उत्तरदायित्व बारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ । यो विशेषत नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ । हामीले मिथिला चित्रकलालाई दिईएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ’, उनले भनिन् ।

प्रदर्शनीको पहिलो दिन लिच्छवि हाउसद्वारा तयार गरिएको चर्या नृत्य प्रस्तुत गर्दै प्रदर्शनीको सुरुआत गरिएको थियो । पहिलो दिन कलाकार रवीन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराईले कला अवलोकन गरेपछि त्यसको ज्ञानको प्रभाव कलाकारितामा पर्ने विश्वास व्यक्त गरे ।

आगामी असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया