काठमाडौं । नेपालभाषा एकेदेमि र कीर्तिपुर नगरपालिकाको सहकार्यमा शनिबार कीर्तिपुरमा ‘सम्पदा अवलोकन पदयात्रा’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन ‘झिगु सम्पदा, झिगु साहित्य’ (हाम्रो सम्पदा, हाम्रो साहित्य) भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लाका साहित्यिक व्यक्तित्वहरूको उल्लेखिय सहभागिता रहेको थियो ।
कार्यक्रम कीर्तिपुर नगरपालिकाको मुख्य प्रवेशद्वार (मुध्वाका) बाट सुरु भई ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्दै सम्पन्न भएको थियो । महानगरपालिकाको सामाजिक विकास विभाग प्रमुख अनुज प्रधानको नेतृत्वमा सुरु भएको पदयात्राले चिलिन्चो बिहार (जगत्पाल महाविहार), बाघभैरव, द्योपुखु, उमा–महेश्वर, मिसा पाया, याकः मिसा, इन्द्रायणी र द्योद्वाखालगायतका सम्पदा स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।
सम्पदाको अध्ययन तथा अवलोकनको क्रममा डा. बज्रमुनि बज्राचार्य र प्रयागमान प्रधानले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । नेपालभाषा एकेदेमिका महासचिव महेन्द्र गोपाल कर्माचार्यले सम्पदाको अवलोकनबाट साहित्यिक प्रेरणा लिई नेपालभाषा र साहित्यको विकास गर्न सकिने बताए । कार्यक्रमको अन्त्यमा साहित्कारहरुबाट सम्पदा अवलोकन, अध्ययन भ्रमण पश्चात सोही विषयको अभिलेखीकरण गर्ने उद्देश्यसहित सिर्जना गरिएका साहित्य नेपालभाषा एकेदेमिको सभाहलमा आयोजित कार्यक्रममा बाचन गरेका थिए ।
प्रतिक्रिया