संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका परमाणु केन्द्रहरूमा संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणलाई “पहिल्यै नै संकटग्रस्त क्षेत्रमा एउटा खतरनाक मोड” को संज्ञा दिएका छन्।
आइतबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै गुटेरेसले भने, “दुई दिनअघि, यसै कक्षबाट मैले प्रत्यक्ष अपील गरेको थिए: शान्तिलाई मौका दिऊँ। त्यो आह्वान सुनिएन। बरु, संयुक्त राज्य अमेरिकाले इरानका परमाणु केन्द्रहरूमा गरेको बमबारीले पहिल्यै नै संकटग्रस्त क्षेत्रमा एउटा खतरनाक मोड लिएको छ।”
गुटेरेसले “मध्यपूर्वमा कुनै पनि सैन्य वृद्धि” को बारम्बार निन्दा गरेको बताउँदै भने, “यस क्षेत्रका मानिसहरूले विनाशको अर्को चक्र सहने क्षमता राख्दैनन्। तैपनि, हामी अहिले बदलाको दुष्चक्रमा फस्ने जोखिममा छौं।”
संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले अमेरिकी आक्रमणपछि इरानका परमाणु स्थलहरूमा के भयो भन्नेबारे सुरक्षा परिषद्लाई जानकारी गराए।
उनले फोर्डो, इस्फाहान र नतान्जका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणले क्षति पुर्याएको पुष्टि गरे। फोर्डोमा “क्रेटरहरू” अर्थात् दुलो देखिएको र इस्फाहानमा “अतिरिक्त भवनहरूमा” पनडुब्बी जहाज क्षेप्यास्त्रले क्षति पुर्याएको ग्रोसीले बताए। नतान्जको इन्धन संवर्द्धन कारखानामा पनि आक्रमण भएको उनले जानकारी दिए।
यद्यपि, इरानले आइएइएलाई ती तीनवटै स्थलहरूमा विकिरणको स्तर बढेको छैन भनी जानकारी दिएको ग्रोसीले बताए। उनले सोमबार भियनामा आइएइएको गभर्नर्स समितिको विशेष सत्र आह्वान गरेका छन्।सीएनएनको भूउपग्रह तस्बिर विश्लेषणले इस्फाहानमा कम्तिमा १८ वटा संरचनाहरू ध्वस्त वा आंशिक रूपमा ध्वस्त भएको देखाएको छ।
प्रतिक्रिया