कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढी र आगलागीजस्ता प्राकृतिक विपद्हरूको सामना गर्न समुदाय-स्तरमा कृत्रिम नमुना घटना अभ्यास गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएको समन्वय तथा सहकार्यमा भीमदत्त नगरपालिकाले आयोजना गरेको यो अभ्यास कार्यक्रमले स्थानीय समुदायलाई विपद्को समयमा कसरी ज्यान जोगाउने र धनजनको क्षति न्यूनीकरण गर्ने भन्ने बारेमा महत्वपूर्ण सीप सिकाएको छ।
एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्टले विपद् व्यवस्थापनमा समुदायको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिँदै यस अभ्यासको महत्वबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार, प्राकृतिक विपद्हरूमा सबैभन्दा पहिले प्रभावित हुने र तत्काल प्रतिक्रिया दिने भनेकै समुदायका सदस्यहरू हुन्। त्यसैले, उनीहरूलाई प्रशिक्षित गर्नु र सशक्त बनाउनु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार हो।
यस अभ्यासले समुदायका व्यक्तिहरूलाई विपद्को समयमा कसरी व्यवस्थित रूपमा काम गर्ने, घाइतेहरूको उद्धार कसरी गर्ने, प्राथमिक उपचार कसरी प्रदान गर्ने र स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनहरू जस्तै डोरी, काठ, डुंगा, वा अन्य आवश्यक सामग्रीहरूको कसरी अधिकतम प्रयोग गर्ने भन्ने बारेमा व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ। भट्टले समुदायलाई यसरी तयार पार्दा उनीहरू पहिलो उद्धारकर्ताका रूपमा सक्षम भई थप ठूलो मानवीय र भौतिक क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।
भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्टले प्राकृतिक विपद्हरूलाई पूर्ण रूपमा रोकथाम गर्न नसके पनि पूर्वतयारीको माध्यमबाट यसको असरलाई न्यून गर्न सकिने बताउनुभयो। विगतका बाढीको अनुभवलाई आत्मसात गर्दै आगामी दिनहरूमा आइपर्ने विपद्का लागि कसरी पूर्वतयारीका कार्यहरू गर्न सकिन्छ भन्ने दिगो व्यवस्थापनका लागि बाढी र आगलागीमा आधारित यो कृत्रिम नमुना अभ्यास गरिएको उहाँले स्पष्ट पार्नुभयो।
अभ्यासमा सहभागी समुदायका व्यक्तिहरूले विपद्को समयमा गरिने उद्धार, उपचारलगायतका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। भीमदत्त नगरपालिका ९ का स्थानीय धनबहादुर खडकाले यस्तो कार्यक्रमको अति नै आवश्यकता रहेको बताउँदै महाकाली तटीय क्षेत्रका स्थानीयहरूलाई यसले धेरै जानकारी, ज्ञान र सीप सिकाएको उल्लेख गर्नुभयो। उहाँले पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचारलगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएकोमा विश्वास व्यक्त गर्नुभयो।
बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा एनएनएसडब्लुएका भीमदत्त नगरपालिकाका सामाजिक परिचालिका अनिता लावडले सहजीकरण गर्नुभएको थियो।
किन आवश्यक छ यस्तो अभ्यास?
पछिल्लो एक दशकयता वर्षायाममा आउने बाढीले कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याउँदै आएको छ। यसैलाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाको वडा नम्बर ९, मुसेट्टीमा रहेका दुईवटा भिमकुण्ड सामुदायिक विपद् व्यवस्थापन समिति र सन्तनगर खल्ला सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरूलाई यो अभ्यास गराइएको हो।
भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलले बाढी र आगलागीबाट बच्न र बचाउने सीप सिकाउन यो कृत्रिम नमुना घटना अभ्यास आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार महाकाली तटीय क्षेत्रका समुदायलाई सुरक्षित राख्न र उनीहरूको जिउधनको सुरक्षा गर्नका लागि नगरपालिकाका नगर प्रहरी, दमकल, प्रहरी निकाय, सशस्त्र प्रहरी र स्थानीयहरूलाई समावेश गरी यो अभ्यास गराइएको थियो। विपद्को रूपमा बाढी र डुबान बढी हुने यस क्षेत्रमा समुदायलाई नै उद्धार गर्ने सीप सिकाएर उनीहरूलाई विपद्मा सहयोग गर्ने पहिलो व्यक्ति बनाउनु नै आजको कार्यक्रमको मुख्य उद्देश्य रहेको रावलले जानकारी दिनुभयो।
प्रतिक्रिया