इजरायल-इरान द्वन्द्व: बढ्दो तनाव र दुवै देशद्वारा खाली गर्ने चेतावनी

इनेप्लिज २०८२ असार ५ गते २२:२८ मा प्रकाशित

इजरायली सेनाले उत्तरी इरानको कलाश तलेशान गाउँको औद्योगिक क्षेत्रमा रहेका मानिसहरूलाई खाली गर्न चेतावनी जारी गरेको छ। इजरायलले उक्त क्षेत्रमा सैन्य पूर्वाधारमाथि आक्रमण गर्ने बताएको छ। “यस क्षेत्रमा तपाईहरुको उपस्थितिले तपाईहरुको ज्यान जोखिममा पार्छ,” सेनाले भनेको छ। यो चेतावनीले दुई देशबीचको तनावलाई थप बढाएको छ।

सिएनएनक अनुसार यसैबीच, इरानले पनि इजरायलको च्यानल १४ समाचार कार्यालयहरूलाई खाली गर्न चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रचार दूरदर्शन (च्यानल)भन्दै इरानले उक्त कार्यालयहरूलाई आगामी दिनमा निशाना बनाउने योजना बनाएको छ।

इरानले सबै कर्मचारीहरूलाई तत्काल खाली गर्न आग्रह गरेको छ।

यसअघि सोमबार इजरायली सेनाले इरानको सरकारी समाचार माध्यम आईआरआईएनएनको परिसरमा आक्रमण गरेको थियो, जसलाई उसले “इरानी सशस्त्र बलले सैन्य प्रयोजनका लागि प्रयोग गरिरहेको सञ्चार केन्द्र” भनेको थियो।

प्रत्यक्ष प्रसारणका क्रममा एक संचारवाचिकाले समाचार प्रस्तुत गरिरहँदा ठूलो विस्फोटको आवाज सुनिएको थियो। आईआरआईबीले पछि उक्त आक्रमणमा आफ्ना एक कर्मचारीको मृत्यु भएको बताएको थियो।

यस बढ्दो द्वन्द्वका कारण करिब १२,५०० इरानी तीर्थयात्री साउदी अरेबियाको मदिनामा अलपत्र परेका छन्। इजरायलसँगको जारी द्वन्द्वका कारण इरानका लागि उडानहरू स्थगित भएपछि उनीहरू त्यहाँ फसेका हुन्। यसै जुन महिनाको सुरुमा लाखौं मुस्लिमहरू वार्षिक हज यात्राका लागि साउदी अरेबियाको मक्कामा थिए र जुन ६ मा ईद अल-अधा मनाएका थिए। कतिपयले हज यात्राका क्रममा मदिनाको पनि भ्रमण गरेका थिए। उडानहरू रद्द भएपछि उनीहरूको घर फर्कने मार्ग अनिश्चित बनेको छ।

दुवै पक्षबाट लगातारको चेतावनी र आक्रमणले यस क्षेत्रमा थप अस्थिरता बढाएको छ। नागरिकहरू यस द्वन्द्वको चपेटामा परेका छन् । उनीहरूको सुरक्षा र आवागमनमा गम्भीर असर परेको छ। यसले अन्तर्राष्ट्रिय समुदायमा पनि चिन्ता बढाएको छ।

प्रतिक्रिया