अमेरिकाको मिनेसोटा राज्यको शिब्ली काउन्टीमा अधिकारीहरूले फरार संदिग्ध भान्स बोल्टरको दोस्रो गाडी फेला पारेको क्षेत्र नजिकका केही घरहरूमा खानतलासी गरेका छन्। दिउँसोभरि, विशेष कानुन प्रवर्तन टोलीहरूले ग्रामीण इलाकामा रहेका यी घरहरूमा गहन रूपमा खोजी गरेका थिए।
बख्तरबन्द गाडीहरू धुले सडक, निजी प्रवेश मार्गहरू र खेतबारीमा गुडेका थिए । यानशाला (गराज) र अन्य भवनहरूमा पनि जाँच गरिएको थियो। सडकमा रहेका गाडीहरूको माथिबाट स्नाइपर(निशानेबाज)हरूले जमिनमा रहेका अधिकारीहरूलाई सुरक्षा दिँदै ढोका ढकढक्याएका थिए।
ब्रायन लिभहार्डले सिएनएनलाई बताए अनुसार उनी गिर्जाघर (चर्च)बाट घर फर्किंदै गर्दा आफ्नो घर अगाडिको सडक बन्द भएको देखे। उनको घर पनि बोल्टरको खोजी अभियानको एक भागको रूपमा यस क्षेत्रमा खानतलासी गरिएका घरहरू मध्ये एक थियो।
उनले यस्तो खोजी आफ्नो छिमेकमा होला भनेर कहिल्यै नसोचेको बताए, तर प्रहरीलाई आफ्नो काम गर्न दिनु पर्ने बताए।
प्रहरीले संदिग्ध भान्स बोल्टरसँग सम्बन्धित घरमा शनिबार गरेको खानतलासीपछि एक दर्जनभन्दा बढी नयाँ नामहरू सहितको सम्भावित निशानामा रहेकाहरूको सूची (हिट लिस्ट )फेला पारेको विश्वास गरिएको छ ।
संदिग्धले गत शनिबार बिहानै एक पीडितको घरबाहिर प्रहरीसँग गोली हानाहान गरी घटनास्थलबाट भागेपछि आफ्नो गाडीमा करिब ७० जनाको प्रारम्भिक निशानामा रहेकाहरूको सूची छोडेका थिए।
सिएनएनले प्राप्त गरेको प्रारम्भिक ७० जनाको सूचीमा रहेका नामहरू प्रायः डेमोक्रेट वा प्लान्ड प्यारेन्टहुड अर्थात् गर्भपतन अधिकार आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू छन्। यसमा प्रतिनिधि इल्हान ओमर र सिनेटर टिना स्मिथ जस्ता प्रमुख सांसदहरूका साथै प्लान्ड प्यारेन्टहुडका नेताहरू पनि समावेश थिए।
प्रहरीले मिनेसोटा राज्य प्रतिनिधि (सांसद )मेलिसा हर्टम्यान र उनका पतिको हत्या तथा अर्का राज्य सांसदलाई गोली हानेको सम्बन्धमा संदिग्धको व्यापक खोजी जारी राखेका छन् ।
प्रतिक्रिया