अर्ध-आधिकारिक इरानी सञ्चारमाध्यम मेहर न्यूजले आइतबार दिएको समाचार अनुसार इजरायलमाथि इरानको चौथो चरणको सैन्य कारबाही सुरु भएको छ। ‘अपरेसन ट्रु प्रमिस ३’ अर्थात् सत्य वचन अभियान -३ नाम दिइएको यो कारबाहीमा इजरायलका आवासीय भवनहरू र पूर्वाधारलाई लक्षित गरी “सयौं विभिन्न प्राक्षेपिक (ब्यालेस्टिक) क्षेप्यास्त्रहरू” प्रयोग गरिएको मेहरले जनाएको छ।
इजरायलले इरानमाथि गरेको प्रारम्भिक हमलाको “निर्णायक जवाफ” स्वरूप यो आक्रमण गरिएको हो, जसमा इरानका धेरै उच्च पदस्थ सैन्य सेनापतिहरूको मृत्यु भएको थियो। इरानी अधिकारीहरूले इजरायलबाट कुनै पनि “साहसिक कार्य” को कडा जवाफ दिने कुरामा जोड दिएको मेहरले उल्लेख गरेको छ।
सिएनएनका अनुसार यसैबीच, विश्वका धेरै नेताहरूले आइतबार इजरायल र इरानबीचको तनाव कम गर्न कूटनीतिक वार्ताका लागि आह्वान गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुरा गरेपछि युरोपको “शान्ति, स्थायित्व र कूटनीतिक प्रयासहरूमार्फत तनाव कम गर्ने प्रतिबद्धता” दोहोर्याएकी छन्।
उनिले इरानको विकसित भइरहेको आणविक कार्यक्रमप्रति पनि चिन्ता व्यक्त गरेकी छन्। उनले भनिन्, “युरोप सधैं स्पष्ट छ: इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न सक्दैन। वार्ताद्वारा समाधान आवश्यक रहेको छ।”
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई सम्झौता गर्नका लागि गरेको आह्वानको स्वागत गरेको टर्कीको सरकारी समाचार निकाय अनाडोलुले जानकारी दिएको छ। उनले दुवै पक्षलाई हुने “अपरिवर्तनीय आर्थिक र नागरिक क्षति” लाई पनि सम्बोधन गर्दै तनाव कम गर्नुपर्ने आवश्यकतामा जोड दिएको अनाडोलुले जनाएको छ।
इरानका उप-विदेशमन्त्री सईद खातिबजादेहले आइतबार इजरायलले तेहरानस्थित इरानको परराष्ट्र मन्त्रालयको पुस्तकालयमा “विचारपूर्वक र निर्मम” हमला गरेको पुष्टि गरेका छन्। खातिबजादेहले सामाजिक एक्समा भने, “आक्रमणमा धेरै नागरिक घाइते भएका छन्, जसमा मेरा केही सहकर्मीहरू पनि थिए जसलाई उपचारका लागि अस्पताल लगिएको छ।”
प्रतिक्रिया