अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायलले बनाएको योजना अन्तर्गत ईरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको हत्या गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । विभिन्न बिदेशी संचार माध्यमहरु एपी,सिएनएन,फक्सन्यूज, सीबीएस न्यूज लगायतलाई अमेरिकी अधिकारीहरूले बताएको उल्लेख गरेका छन् ।
एक अमेरिकी अधिकारीका अनुसार, इजरायली पक्षसँग खामेनीलाई मार्ने मौका थियो, तर राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई यो विचार राम्रो होइन भनेर स्पष्ट रूपमा बताएका थिए। यो कुराकानी गत साता इजरायलले ईरानमाथि ठूलो आक्रमण गरेपछि भएको हो।
यो खबर सबैभन्दा पहिला रोयटर्सले सार्वजनिक गरेको थियो। तर आइतवार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहुले यसबारे सीधै पुष्टि या खण्डन गरेनन्। उनले भने, “धेरैजसो संवादहरूबारे झूटा समाचारहरू आउने गर्छन्। म यसमा जान्न चाहन्न। तर हामीले जे गर्नुपर्छ, त्यो गर्छौं। अमेरिका पनि आफैँका लागि के उपयुक्त हो भन्ने जान्दछ।”
राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म यो समाचारबारे कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। तर उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा चेतावनी दिँदै भने, “यदि ईरानले अमेरिकी सरोकारवाला माथि आक्रमण गर्छ भने अमेरिकी सेनाको यस्तो शक्ति प्रदर्शन हुनेछ जुन विश्वले पहिले कहिल्यै देखेको छैन।”
केही घण्टापछि ट्रम्पले भने, “ईरान र इजरायल बीच सम्झौता हुनेछ, म गराउँछु — ठीक त्यसैगरी जसरी भारत–पाकिस्तानबीच म मिलाएको थिएँ।”
शनिबार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इजरायल–ईरान द्वन्द्वबारे छलफल गरे। उनी आइतवार क्यानडा प्रस्थान गर्दै छन् जहाँ जी–७ शिखर सम्मेलनमा मध्यपूर्व संकट प्रमुख कार्यसूची (एजेन्डा )हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया