जापानको दक्षिणी टापु ओकिनावास्थित अमेरिकी वायुसेनाको काडेना वायुसेना अड्डामा (एयर बेस) रहेको विस्फोटक भण्डारणस्थलमा भएको विस्फोटमा चारजना जापानी सैनिक घाइते भएका छन्। उनीहरूको ज्यानको खतरा नरहेको अधिकारीहरूले बताएका छन्।
ओकिनावा प्रान्तीय सरकारको नियन्त्रणमा रहेको उक्त भण्डारणस्थलमा दोस्रो विश्वयुद्धताका बाँकी रहेका बमहरू अस्थायी रूपमा राखिन्छ। यही स्थानमा बम जाँच गर्ने क्रममा अचानक विस्फोट हुँदा सैनिकहरूका औँलाहरूमा चोट लागेको जनाइएको छ। जापानी सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार, सैनिकहरूले खिया लागेको बम सफा गर्दै विवरण बुझ्ने प्रयास गरिरहेका बेला विस्फोट भएको थियो।
एबिसीन्यूजका अनुसार सुरक्षा बलले अहिले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी राखेको जनाएको छ। अमेरिकी वायुसेनाले विज्ञप्ति जारी गर्दै घटनामा कुनै पनि अमेरिकी सैनिक संलग्न नरहेको पुष्टि गरेको छ।
दोस्रो विश्वयुद्धको समयमा अमेरिकाद्वारा ओकिनावा क्षेत्रमा हजारौं टन बम खसालिएको थियो, जसका कारण आजसम्म पनि निर्माण स्थल वा अन्य क्षेत्रमा पुराना बम भेटिने गरेका छन्। हाल ओकिनावामा अनुमानित १,८५६ टन विस्फोटक बम अझै जमिनमुनी गाडिएको विश्वास गरिन्छ।
गत अक्टोबरमा पनि दक्षिणी जापानको व्यावसायिक विमानस्थलमा पुरानो अमेरिकी बम विस्फोट हुँदा ठूलो खाडल बनेको थियो र दर्जनौँ उडानहरू अवरुद्ध भएका थिए।
प्रतिक्रिया