कविता: प्रतीक्षा

मदन बस्नेत, टोरोन्टो। २०८२ जेठ १८ गते १:४६ मा प्रकाशित

सागरमा समाहित हुन

नदी उखरमाउलो बने जस्तो

उँचो काला पत्थर

सेतो बनेर टलक्क टल्कन

हिउँको प्रतीक्षा गरे जस्तो।

आकाश भरी छरिएका बादल

बर्षा बनेर दर्किने आशाले

एकै ठाउँमा ठोक्किदै जोडिदै

मडारिएर गर्जिए जस्तो।

क्यानभासमा छरिएर

अनेकन आकृतिमा

प्रस्तुत हुन

रंगहरुले कुचीको

प्रतीक्षा गरे जस्तो।

प्रकृतिलाई मनमोहक

रंगीचंगी बनाउन

मन मस्तिष्क सबैका

प्रफुल्लित तुल्याउन

फूलहरूले वसन्तको

प्रतीक्षा गरे जस्तो।

म तिम्रो प्रतीक्षा

त्यसैगरी गरिरहेको छु

तिमीलाई भेट्न

नअघाउन्जेल हेर्न

भेटेर गर्लम्म

अंगालोमा बाध्न

मदहोश नहुन्जेल

तिम्रा कुरा सुन्न

आकुलव्याकुल भएको छु

म फगत तिम्रै

प्रतीक्षामा छु।

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया