अमेरिकाको लस एन्जलस शहरमा मंगलबार बिहानै गरिएको एक व्यापक कारवाहीमा १२ जना खतरनाक अपराधीहरूलाई पक्राउ गरिएको छ। अमेरिकी गृह बिभागको नेतृत्वमा गरिएको यो सात निकायहरु जोडिएका अपरेसन सपर्स रेडी (Operation Supper’s Ready) अर्थात् अपराधीहरूको अन्त्य नजिक आएको छ, अब सजायको भोजन तयार भइसकेको छ” भन्ने संकेतमा राखिएको कारवाही करिब दुई वर्ष लामो अनुसन्धानपछि सम्पन्न भएको हो।
पक्राउ परेकामध्ये केहीमाथि हत्या प्रयास, अपहरण र ८३ मिलियन डलर बराबरको एमाजोन ठगीमा संलग्न भएको अभियोग लागेको छ। पक्राउ परेकाहरू आपराधिक गिरोह आमिर्यान अर्गनाइजड क्राइम ग्रुप र आर्टुनी इन्टरप्राइजका शंका गरिएका अगुवा हुन्, जसले लस एन्जलस र फ्लोरिडाभर सशस्त्र संघर्ष मच्चाइरहेका थिए।
अमेरिकी अधिकारीहरूले जनाए अनुसार यी गिरोहहरू बहुराष्ट्रिय संरचनामा सञ्चालित छन् जसमा इरान, अजरबैजानजस्ता देशका सदस्यसमेत रहेका छन्।
तिनको सम्बन्ध मेक्सिकोको माफिया र सुरेनो गिरोहसँग समेत रहेको छ, जसअन्तर्गत पैसा लिएर हत्या गर्ने एक सदस्यले दुई व्यक्तिमाथि गोली हान्दा एकको ज्यान गएको थियो।
अमेरिकी गृह बिभागसँग विशेष पहुँच पाएको फक्स न्यूजले विवरण गरे अनुसार एमाजोनबाट घरेलु सामग्री र सौन्दर्य सामान लिई नक्कली प्रतिष्ठान (कम्पनी) बनाउने योजना प्रमुख अभियुक्त अरेग बेजिकले तयार गरेका थिए। ती सामानहरू आफ्नै गोदाममा राखेर पुनः बिक्री गर्ने उद्देश्य थियो।
अमेरिकाका केन्द्रिय वकिल बिल एसायलीले भने, “यी आपराधिक गिरोहहरूले वर्षौदेखि समुदायलाई आतंकित बनाएका थिए। अब, ट्रम्प प्रशासनको प्राथमिकतामा यस्ता गिरोहहरूको निर्मूलन प्रमुख उद्देश्य बनेको छ।”
फक्सन्यूजका अनुसार पक्राउ परेका यदि दोषी ठहरिए तिनीहरूलाई १० वर्षदेखि आजीवन कारावास सजाय हुन सक्नेछ । साथै देशबाट निष्कासन गरिनेछ। यस कारवाहीमा १ लाख डलर नगद, ३ वटा बख्तरबन्द सवारी र १४ हतियार बरामद गरिएको थियो भने एक अभियुक्त अझै फरार छन्।
प्रतिक्रिया