अमेरिका विरुद्धको क्षेप्यास्त्त्र (मिसाइल )आक्रमणबाट जोगिन ट्रम्प प्रशासनले प्रस्ताव गरेको “गोल्डन डोम” नामक नयाँ क्षेप्यास्त्र रक्षा प्रणालीको योजनाले अन्तरिक्षलाई सैन्यकरणतर्फ लैजाने खतरा बढाएको भन्दै चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्त्ता माओ निङले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै भनिन्, “अमेरिका आफ्नै सुरक्षालाई लिएर अत्यधिक चिन्तित छ, जसले विश्वको रणनीतिक सन्तुलन र स्थायित्वमा असर पुर्याइरहेको छ। यस्तो प्रणालीले अन्तरिक्षलाई युद्धको रणभूमि बनाउने खतरा उत्पन्न गर्छ।”
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गर्दै उक्त अत्याधुनिक प्रणालीको ढाँचा आधिकारिक रूपमा छनोट गरिएको बताएका थिए।यसका लागि प्रारम्भिक रूपमा २५ बिलियनडलर बजेट प्रस्ताव संसदमा छलफल भइरहेको छ।
अमेरिकी रक्षा गुप्तचर निकायले सार्वजनिक गरेको मूल्याङ्कनमा चीन र रूसले नवीनतम क्षेप्यास्त्र प्रणालीहरू विकास गरिरहेको जनाइएको छ, जसले अमेरिकी सुरक्षा प्रणालीको कमजोर पक्षलाई लक्षित गर्न सक्छ।
त्यसैगरी, उत्तर कोरियाले अमेरिका सम्म पुग्ने बलिस्टिक मिसाइल ( प्राक्षेपिक क्षेप्यास्त्र) सफलतापूर्वक परीक्षण गरिसकेको र इरानले पनि सन् २०३५ सम्म सैन्य क्षमतायुक्त अन्तरमहादेशीय मिसाइल ( क्षेप्यास्त्र )विकास गर्न सक्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
चीनले अमेरिकामाथि “एकदेशीय सुरक्षा” को नीतिमा अडिग रही अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर बनाएको आरोप लगाएको छ।
माओले जोड दिँदै भनिन्, “हामी अमेरिकालाई तत्काल यो प्रणालीको विकास र तैनाथी त्याग्न आग्रह गर्दछौं।”
यस नयाँ क्षेप्यास्त्र प्रणाली योजनाले अमेरिका, रूस, चीन र अन्य शक्तिशाली देशहरूबीच हतियार होडलाई तीव्र पार्ने संकेत देखिएको छ।
प्रतिक्रिया