राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार १७५ बिलियन डलरको लागतमा नयाँ अत्याधुनिक क्षेप्यास्त्र (मिसाइल)रक्षा प्रणाली “गोल्डेन डोम” निर्माणको योजना सार्वजनिक गरेका छन्। यो प्रणाली अन्तरिक्षबाट प्रक्षेपण भएका हतियारहरू समेत रोक्न सक्षम हुने ट्रम्पको दाबी छ।
“यो प्रणाली हामीले निर्माण गरेको सबैभन्दा शक्तिशाली रक्षा कवच हुनेछ,” ट्रम्पले भने । “मेरो कार्यकाल समाप्त हुनुअघि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ।”
यस परियोजनाको नेतृत्व भू उपग्रह बल (स्पेस फोर्स)का जनरल अर्थात् प्रमुख माइकल गुएट्लेनले गर्नेछन्। यो योजना स्व. राष्ट्रपति रोनाल्ड रेगनको आलोचित “स्टार वार्स” कार्यक्रमसँग तुलना गरिएको छ, जुन उच्च लागत र सीमित प्राविधिक क्षमताका कारण असफल भएको थियो। तर ट्रम्प प्रशासनले प्रविधिमा भएको प्रगति अब यस्तो योजना सम्भव भएको तर्क गरेको छ।
यो योजना इजरायलको “आइरन डोम”बाट प्रेरित हो, जसले इरानको क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन )आक्रमणको सामना गर्न सफल भएको थियो। ट्रम्पले अमेरिकी भूमिलाई पनि यस्तै “अदृश्य छाता” अन्तर्गत सुरक्षित राख्नुपर्ने आवश्यकता बताएका छन्।
रक्षा विशेषज्ञ टम कराकोका अनुसार, वर्तमान अमेरिकी प्रणाली उत्तर कोरियाबाट आउने अन्तरमहाद्वीपीय क्षेप्यास्त्रहरूमा केन्द्रित भए पनि अब मानव रहित यान (ड्रोन), समुन्द्री क्षेप्यास्त्र (क्रूज मिसाइल )र आवाज भन्दा पनि छिटो चल्ने हतियारबाट पनि सुरक्षा आवश्यक भइसकेको छ।
रक्षा सचिव पिट हेगसेथले प्रविधिमा आएको फड्कोले अब यस्तो प्रणाली निर्माण सम्भव भएको बताएका छन्। “अब प्रविधि तयार छ, र हामी हाम्रो मातृभूमिको रक्षा गर्न तयार छौं,” उनले भने।
प्रतिक्रिया