ज़ेलेन्स्कीको कूटनीतिक भेटघाट: ट्रम्प–पुटिन वार्ताअघि शान्ति पहलका लागि अमेरिकादेखि युरोपसम्म दौडधुप

इनेप्लिज २०८२ जेठ ६ गते १:४८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले आइतबार रोममा पोप लियो चौधौंको उद्घाटन समारोहको अवसरमा अमेरिका र युरोपका शीर्ष नेतासँग भेटवार्ता गर्दै युक्रेन युद्ध अन्त्यको प्रयासलाई कूटनीतिक गति दिएका छन्।

ट्रम्प–पुटिनबीच सोमबार हुने महत्वपूर्ण फोनवार्ताअघि ज़ेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग रोमस्थित अमेरिकी दूतावासमा भेट गरे। उनले सामाजिक सञ्जालमा लेखे, “हामीले वास्तविक कूटनीति र पूर्ण तथा सर्तबिहीन युद्धविरामको आवश्यकता जोड दिएको छौ ।”

उनले रूसमाथि थप दबाब आवश्यक रहेको भन्दै प्रतिबन्ध, व्यापार, सुरक्षा सहयोग, युद्धभूमिको अवस्था र बन्दी विनिमयबारे छलफल गरिएको बताए।

यो ज़ेलेन्स्की र भान्सबीच फेब्रुअरीको विवादास्पद ह्वाइट हाउस बैठकपछिको पहिलो प्रत्यक्ष भेट थियो। ट्रम्पले शनिबार उनी सोमबार पुटिनसँग दूरवार्ता (टेलीफोन)गर्ने भनेका थिए ,त्यसपछि उनको ज़ेलेन्स्की र नेटो नेताहरूसँग पनि कुराकानी हुनेछ।

रुबियोले शान्ति वार्ता अगाडि बढाउन ट्रम्प र पुटिनको प्रत्यक्ष भेट आवश्यक भएको बताएका छन् । यता ज़ेलेन्स्कीले भ्याटिकनलाई युक्रेन–रूस वार्ताको सम्भावित स्थलको रूपमा स्वागत गरेका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्स र बेलायतका नेताहरूले पनि वार्ताका लागि ट्रम्पसँग समन्वय गर्ने बताएका छन्।

इस्तानबुलमा भएको वार्ता छोटोमै टुंगिए पनि दुबै पक्षले १,००० बन्दी साटासाट गर्न सहमति जनाएका छन्। यसैबीच, भान्सले इटली, युरोपियन युनियन, क्यानडा, बेलायत लगायतका नेताहरूसँग व्यापारिक सहकार्यबारे पनि छलफल गरे।

प्रतिक्रिया