अमेरिकाबाट जबरजस्ती एल साल्भाडोर निर्वासित गरिएका गार्सियाको मुद्दामा ट्रम्प प्रशासनमाथि न्यायाधीश आक्रोशित

इनेप्लिज २०८२ जेठ ४ गते १०:३१ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीश पाउला जिनिस राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आक्रोशित भएकी छिन् । अमेरिकी सरकारले जबरजस्ती निर्वासित गरिएका किल्मार अब्रेगो गार्सियालाई फर्काउने प्रयासको विवरण गोप्य राख्न खोजेको उनको आरोप छ ।

एक प्रशासनिक त्रुटिका कारण अब्रेगो गार्सियालाई गलत रूपमा एल साल्भाडोरको कारगारमा पठाइएको थियो।

न्यायाधीश जिनिसले गत महिना उनलाई अमेरिका फर्काउन आदेश दिएकी थिइन्। तर, ट्रम्प प्रशासनले “राज्य गोप्यता विशेषाधिकार” को चक्मा दिँदै अनुसन्धानका लागि आवश्यक कागजातहरू रोकेको आरोप लगाइएको छ।

गार्सियाको तर्फबाट वकिल एन्ड्रयू रोसम्यानले अदालतमा भने, “हामीसँग कुनै मुद्धा नै छैन जबसम्म हामीलाई सरकारले उठाएका वा नउठाएका कदमहरूको जानकारी हुँदैन।” उनले ट्रम्प प्रशासनको सार्वजनिक अभिव्यक्तिहरू र अदालतमा बुझाइएका कागजातहरूबीचको अन्तरलाई “दोहोरिएको असमानता” भन्दै आलोचना गरे।

न्यायाधीश जिनिसले सरकारको तर्कलाई अस्वीकार गर्दै भनिन्, “तपाई मलाई यी बयानहरू सद्भावसाथ गरिएको प्रयास भनेर भन्न सक्नुहुन्न।” उनले थप भनिन्, “यो राम्रो नियत र खराब नियतबीचको प्रश्न हो।”

अदालतमा पेश गरिएका कागजातमध्ये १,१४० वटा “गोप्यता विशेषाधिकार” अन्तर्गत लुकाइएको र केवल ३२ वटा मात्र नयाँ कागजात पाइएको वकिल रोसम्यानले जानकारी दिए। गार्सियाको वकिल टोलीले गृहसचिव क्रिस्टी नोएम र विदेशसचिव मार्को रुबियोसँग सम्बन्धित थप कागजात मागे पनि अहिलेसम्म प्राप्त भइनसकेको जनाइएको छ।

यता, न्याय विभागका वकिल जोनाथन गुइनले अब्रेगो गार्सिया “सन्चो” रहेको र “उनको तौल बढेको” जानकारी एल साल्भाडोरबाट पाएको बताए।

दुई घण्टा लामो सुनुवाइपछि, न्यायाधीश जिनिसले बाँकी गोप्य दस्तावेजबारे बन्द ढोकामा छलफल चलाइन्। अब्रेगो गार्सियाको जीवनको सुरक्षासँग जोडिएको यो मुद्दा तीव्र मोडमा पुगेको छ । अदालत र ट्रम्प प्रशासन बीचको संघर्ष अझ चर्किँदै गएको छ।

प्रतिक्रिया