काठमाडौँ. : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ।
संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले विज्ञप्ति निकालेर मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा सुशिला रम्तेल र उनकी पार्टनर प्रमिला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका उल्लेख गरेका छन्। ‘हामी सुशिला र प्रमिलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ,’विज्ञप्तिमा लेखिएको,’साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस्।’
सुशिला र प्रमिलाको संघर्षको कथा
दुवै परिवारबीच मिलापत्र कागजमा हस्ताक्षर गर्न मात्र बाँकी थियो,प्रमिला तामाङको परिवार एक्कासि आवेगमा आयो। सुशिला रम्तेलको परिवार आक्रमण सहेर बस्यो। मिलापत्र कागजमा हस्ताक्षर भएन। जिल्ला प्रहरी परिसर ललितपुरले सँगै बस्न नदिएको समलिङ्गी जोडीको सम्बन्धले कानुनी मान्यता पाएको छ।
नागरिकतामा दुवैको महिला भएकाले विवाह दर्ता गर्न अध्ययन गर्ने बताएका सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ६ का सचिव डण्डपाणि भण्डारीले ठ्याक्कै एक सातामा प्रमाणपत्र जारी गर्न तयार भए।
दुई वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ६ निवासी शुसिला रम्तेल र धादिङ गल्छी गाउँपालिका वडा नं. ५ निवासी प्रमिला तामाङले अन्ततः समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरे।
सर्वोच्च अदालतले २०८० साल असार १२ गते समलिङ्गी विवाह गर्न अन्तरिम आदेश दिएको थियो। गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागको २०८१ वैशाख १२ गते ७५३ वटा स्थानीय तहमा समलिङ्गी तेस्रोलिंगीको विवाह दर्ता गर्न परिपत्र जारी गरेको थियो।
सर्वोच्च अदालतको आदेश, गृह मन्त्रालयको निर्णयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा राखिएको समलिङ्गी विवाह दर्ताको परिपत्र अध्ययन नगरेका वडा सचिव भण्डारी अन्ततः विभागको निर्देशनमा विवाह दर्ता प्रमाणपत्र दिन तयार भएका हुन्। भण्डारीले अध्ययन गर्न १५ दिन लाग्ने बताएका थिए। उनी सरुवा भएर वडा नं. ६ मा पुगेको ६/७ दिन मात्रै भएको थियो। उनी विवाह दर्ता गर्न सुशीला र प्रमिलाको निवेदन मुल्तबीमा राखेर काठमाडौं आएका थिए। उनले पञ्जिकरण विभागमा गएर बुझ्ने बताएका थिए।
सुशीलाका बुबा लालकाजी रम्तेलले सम्पर्क गर्दा दुर्व्यवहारयुक्त शब्द प्रहार गरे। ‘यी दलितहरूको के नाटक हो? छोरीछोरी विवाह गर्न आउँछन्,विभागको वेबसाइटमा राखिएको छ नि भन्दा अझ उनले त्यो फेक होला, म सिंहदरबार गएर बुझ्छु, तपाई पनि त्यही आउनु,’लालकाजीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक मुकेश कुमार केशरीसँग गुनासो गरे,’मेरो बच्चाको विवाह जोसँग गराइदिऊँ वडा सचिवले यसरी दुर्व्यवहार गर्न मिल्छ?’
लालकाजीको आफ्नो पीडा एकातिर छ, अर्कोतिर सचिवको बज्रवाण। उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको हक अधिकारका लागि काम गर्दै आएको गैरसरकारी संस्था मायाको पहिचान नेपालको सम्पर्कमा पुगे। मायाको पहिचान नेपालले पञ्जीकरण विभागसँग समन्वय गरेर गुनासो राख्ने वातावरण बनाइदिएको लालकाजी बताउँछन्।
मायाको पहिचान नेपालका सचिव एवं दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल जोडी सुरेन्द्र पाण्डे, तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला), मिस्टर गे हेण्डसम नेपालका उपाधि विजेता मनिन्द्र सिंह दनुवार, सुशिला र प्रमिला, सुशिलाका बुबा, आफन्तले विभागका निर्देशक केशरी समक्ष गुनासो आउने अवस्था अन्त्य गर्न आग्रह गरेका थिए।
सिंहदरबार अधिकांशको पहुँच बाहिर छ। लालकाजीलाई पनि वडा सचिव भण्डारीले सिंहदरबारमा भेटौला भनेर भागिरहेका थिए। ‘विभागका निर्देशक केशरीको आग्रहमा कार्यकक्षबाट नै वडा सचिवलाई फोन गरियो,उठाउँदै उठाउनु भएन,’लालकाजीले प्रश्न गरे,’वडा सचिवले कानुन अनुसारको काम गर्दिन भन्न पाइन्छ?’
विभागका निर्देशक केशरीले पनि पटकपटक फोन गरे। म्यासेज पठाए। जवाफ आएन। उनले समलिङ्गी विवाह दर्ता गर्दिन भन्न नपाउने सुनाए। ‘सर्वोच्चको आदेश छ,गृहमन्त्रीस्तरिय निर्णय छ,पञ्जीकरण विभागको परिपत्र छ,वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ,’उनले भने,’स्थानीय पञ्जीकाधिकारी (वडा सचिव)ले गर्दिन भन्न पाइँदैन।’
समलिङ्गी जोडीहरू मध्ये कति जोडी परिवारबाट बहिष्कृत, बाबाआमा उपस्थित नहुँदा पनि समलिङ्गी विवाह दर्ता गरिदिन भनेको निर्देशक केशरीले बताए। विभागले घटना दर्ताको भिडियो सन्देश निर्माण गरेर देशभरका वडा सचिवहरूलाई तालिम दिन सुरु गरेको उनले जानकारी दिए। भिडियो सन्देशमा समलिङ्गी विवाहबारे पनि बुझाइएको उनले बताए।
वडा सचिव भण्डारीले ‘दुवैको नागरिकतामा महिला छ,कसरी दर्ता गर्ने? म बुझ्दैछु, मलाई कानुनले नै १५ दिनको समय दिएको छ,’भन्ने जवाफ दिएका थिए। ‘मैले बुझ्न नपाउने?विवाह दर्ता रोकेको होइन,’वडा सचिव भण्डारीले निवेदन दर्ताको गरेकै दिन पहिचानसँग भनेका थिए,१५ दिनपछि आउनु भनेको छु।’
बुधवार पनि उनी विवाह दर्ता गर्ने मुडमा थिएनन्। उनले विवाह दर्ता नै नगर्ने अड्डी कसेका थिए। तर, पञ्जिकरण विभागबाट कानुन अनुसार विवाह दर्ता गरिदिने आदेश पाए पछि मात्र सचिव भण्डारीले विवाह दर्ता प्रमाणपत्र जारी गरेका हुन्।
उनले त्यही १५ दिनको समय लिँदा प्रमिलालाई परिवारले प्रहरीको सामुन्ने अपहरण गरेर लगेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा प्रमिलाले आफ्नो परिवारसँग असुरक्षित रहेको बताउँदा बताउँदै एसएसपी श्यामकृष्ण अधिकारीको आदेश पाएपछि प्रमिलालाई परिवारका दाईभाउजुले जबरजस्ती तानेर लगेका थिए।
अघिल्लो शुक्रवार सातदोबाटो प्रहरी कार्यालय हुँदै जाउलाखेलस्थित जिल्ला प्रहरी परिसरमा दिनभर प्रमिलालाई सुरिलाबाट छुटाउन अनेक प्रयास भएका थिए।
सुशिलासँग छुटाएर लगे पनि प्रमिला सोमबार भागेर पुन सशिलासँगै आइपुगिन। उनीहरू दुबैलाई संविधान सभा सदस्य सुनिलबाबु पन्तको आग्रहमा ओरेक नेपालले सुरक्षित वासस्थान उपलब्ध गरायो। मङ्गलवार सिंहदरबार पुगे। बुधवार विवाह दर्ता गरे।
कानुनले अधिकार दिएको छ, तर अधिकार प्रयोग गर्न सिंहदरबार धाउनुपर्ने अवस्था अझै जारी छ। समलिङ्गी विवाह कानुनी मान्यता प्राप्त विषय बनेको एक वर्ष नपुग्दै, सिन्धुलीकी सुशिला र धादिङकी प्रमिलाको सङ्घर्षले देखाएको छ, नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकार अझै पनि व्यवहारिक रूपमा कुण्ठित छन्।
पञ्जीकरण विभागका निर्देशक केशरी भन्छन्,’स्थानीय तहमा रहेका सचिवहरूलाई समलिङ्गी विवाहबारे स्पष्ट ज्ञान छैन। यसैकारण विभागले अहिले यस्ता विषयमा भिडियो सन्देशमार्फत तालिम दिन थालेको छ।’
तर, यो पर्याप्त छैन। विवाह दर्ता गर्न सिंहदरबार जानुपर्ने बाध्यता आफैँमा राज्य संयन्त्रको असफलता हो। नागरिकलाई ‘हक माग्ने’ होइन, ‘हक प्रयोग गर्ने’ बनाउने तर्फ सरकार अझै उदासीन देखिएको तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाले बताइन।
प्रेस विज्ञप्ति पढ्नुहोस् :
गत वैशाख २६ गते ललितपुरको प्रहरी परिसरभित्रै समलिङ्गी महिलामाथि भएको अपहरण, दुर्व्यवहार र प्रहरीको संलग्नतामा भएको मानवअधिकार उल्लंघनविरुद्ध आवाज उठाइएको थियो। पीडित जोडीमध्ये एक सदस्य, प्रतिमा तामाङलाई आफ्नै दाजु-भाउजूले जबरजस्ती लगेका थिए, त्यो पनि प्रहरीको उपस्थितिमा। यस घटनाले हाम्रो समाजमा अझै कति गहिरो लैङ्गिक र यौनिक पूर्वाग्रह रहेको स्पष्ट देखाएको थियो।
तर, आशा र सङ्घर्षले आफ्नो बाटो आफै खोल्ने रहेछ। मायाको पहिचान नेपाल र ओरेक नेपालको सहयोगमा यो जोडीले फेरि सुरक्षित वातावरण प्राप्त गरेको छ। हाम्रो संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा आज सुशिला रम्तेल र उनकी पार्टनर प्रमिला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका छन्।
एकातिर परिवारको बन्धन, अर्कोतिर सुनकोशी गाउँपालिका सचिव डण्डपाणि भण्डारीको अबुझ पनले समलिङ्गी जोडी विवाह दर्ता गर्न वञ्चित थिए। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक मुकेश कुमार केशरीलाई मायाको पहिचान नेपालको टोलीले विवाह दर्ता गर्न सहज हुने व्यवस्थाका लागि आग्रह गरेको थियो। निर्देशक केशरीले सहयोगी भूमिका निर्वाह गरेर वडा सचिवलाई निर्देशन दिएपछि विवाह दर्ता भएको हो। नत्र वडा सचिवले अनेक बहानाबाजी गर्दै आएका थिए।
यो विवाह दर्ता केवल दुई व्यक्तिको प्रेमको मान्यता मात्र होइन, यो नेपालको संविधान, मानवअधिकार, र सर्वोच्च अदालतको आदेशलाई मूर्तरूप दिने ऐतिहासिक क्षण हो। विशेषगरी, २०८० असार १२ गतेको सर्वोच्च अदालतको आदेशले समलिङ्गी जोडीलाई विवाह गर्न दिने कानुनी अधिकार सुनिश्चित गरेपछि यो एक थप उदाहरण हो जसले देखाउँछ — प्रेममा विभेद होइन, समानता हुनुपर्छ।
हामी सुशिला र प्रमिलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ। साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस्।
हामी राज्यका सबै अङ्गहरूलाई सम्झाउन चाहन्छौँ — व्यक्तिगत स्वतन्त्रता, प्रेम र मानवअधिकारको संरक्षण गर्नु सरकारको नैतिक र कानुनी दायित्व हो।
प्रेम जितोस्, न्याय टिकिरहोस्।
सुनिल बाबु पन्त
पूर्व संविधानसभा सदस्य,
कार्यकारी निर्देशक,
मायाको पहिचान नेपाल
प्रतिक्रिया