पाकिस्तान प्रशासित कश्मीरका सूचना मन्त्री पीर मज़हर सईद शाहले शनिबार पुष्टि गरे अनुसार भारतको रातभरिको भीषण गोलाबारीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक बालक र चार महिला पनि परेका छन्। घटनामा ५६ जना नागरिक घाइते भएका छन्।
शाहले बताए अनुसार पछिल्लो रात, नियन्त्रण रेखाका पाँचभन्दा बढी स्थानमा भारतले तीव्र गोलाबारी गर्यो। यस आक्रमणपछि १,०१४ जनालाई नियन्त्रण रेखा नजिकका संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
गोलाबारीले पाकिस्तान प्रशासित कश्मीरमा २३५ घरमा क्षति पुर्याएको छ, जसमा २९ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै, नियन्त्रण रेखा नजिकका दुई साना अस्पतालहरू पनि भारतीय आक्रमणको निशाना बनेका छन्, जसले भवन संरचनामा आंशिक क्षति पुर्याएको अधिकारीहरूले बताए ।
भारत र पाकिस्तानबीच जारी तनाव शनिबार थप चर्किएको छ। पाकिस्तानले रातभर भारतीय सेनाले आफ्ना सैन्य आधारशिविरहरूमा आक्रमण गरेको आरोप लगाउँदै जवाफी सैन्य अभियान सञ्चालन गरेको बताएको छ।
भारतको सेनाले भने आफ्नो भूभागमा पाकिस्तानको आक्रमणलाई “प्रभावकारी रूपमा प्रत्युत्तर” दिइएको दाबी गरेको छ।
भारत–पाकिस्तानबीचको यस पछिल्लो सैन्य झडपले दक्षिण एशियामा नयाँ संकटको संकेत देखाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र वार्ताको बाटो रोज्न आग्रह गरिरहेका छन्।
प्रतिक्रिया