बास्कोटाको “खुशीको गोरेटो” मेरो बुझाइमा

–खगराज बराल, पिएचडी २०८२ वैशाख १६ गते १०:४२ मा प्रकाशित

पुस्तक समीक्षा

सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । सिकाइलाई व्यवहारमा आउने स्थायी परिवर्तन भन्ने गरिन्छ । सिकेर व्यवहारमा परिवर्तन आएन भने त्यो वास्तवमा सिकाइ नै होइन, त्यसलाई सिकाइ मान्न सकिदैँन । सिक्ने कुरा उमेरले छेक्दैन, सिक्ने कुरा सानोठूलो हुँदैन । सिक्नका लागि पढेलेखेका गुरु हुनैपर्छ भन्ने छैन, विद्यालय रविश्वविद्यालयमा जानै पर्छ भन्ने छैन । सिकाइ औपचारिक, अनौपचारिक र अरीतिक किसिमले हुने गर्छ । विद्यालय तथा विश्वविद्यालयले औपचारिक शिक्षा प्रदान गर्छन् । यस्ता शैक्षिक संस्थामा सीमित पाठ्यक्रमका सीमित विषयवस्तु, सीमित समय र सीमित घेरामा सिकाइ हुने गर्छ । हामीले विद्यालय तथा विश्वविद्यालयबाट जीवनमा आवश्यक पर्ने विषयवस्तु त पचास प्रतिशत पनि सिकेका हुँदैनौँ । यस्ता शिक्षण संस्थाले त पेसागत र विषयगत ज्ञान र सिप प्रदान गर्छन्, सबैलाई दक्ष बनाउँछन् भन्ने हुँदैन । विद्यालय तथा विश्वविद्यालयबाट सिकेका विषयलाई दैनिक जीवन तथा पेसागत जीवनमा उतार्न त जीवनोपयोगी सिप र कला चाहिन्छ । जीवनोपयोगी सिप र कला भएन भने शैक्षिक संस्थाबाट प्राप्त भएको प्राज्ञिक ज्ञान र सिप कार्यान्वयन हुन सक्दैन । त्यसैले, औपचारिक सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्न पेसागत सिप र सञ्चालन सिप आवश्यक हुने गर्छ । यी सिप भएका व्यक्ति नै सफल व्यक्ति हुन पुग्छन् र जीवनमा खुशी र सुखी हुन पुग्छन् ।

सिकाइ औपचारिक शैक्षिक संस्थाबाट मात्र प्राप्त हुँदैन, अनौपचारिक किसिमले पनि सिकाइ हुने गर्छ । तालिम, गोष्ठी, छलफल जस्ता कार्यक्रमबाट पनि सिकाइ हुने गर्छ । सिकाइ अरीतिक किसिमले हुने गर्छ । कुनै पद्धति, विधि, समय, शिक्षक प्रशिक्षकबिना नै सिकिने सिकाइ अरीतिक हो । तरकारी किन्दा, बसमा यात्रा गर्दा, पत्रपत्रिका पढ्दा, घुम्दा, प्रकृतिमा रमाउँदा हुने सिकाइ अरीतिक हो । हाम्रा घरपरिवारबाट प्राप्त हुने संस्कार पनि अरीतिक सिकाइ हो । यसका लागि कुनै विद्यालय तथा विश्वविद्यालय आवश्यक हुँदैन, न त कुनै प्रशिक्षण केन्द्र । सिक्ने विषयको सीमितता छैन । “मैले सिकिसकेँ, अब मेरो सिकाइ पूरा भयो” भनेर कसैले पनि भन्न सक्दैन । राम्रो र कुशल व्यक्तिबाट कुचो लगाउन पनि सिक्नुपर्छ, झाडु लगाउन पनि सिक्नुपर्छ । सिकाउने व्यक्ति को हो, कुन स्तरको हो, सिकाउन योग्य छ छैन भन्दा पनि सिक्ने विषयवस्तु के हो, मेरो लागि आवश्यक छ छैन भन्ने कुरा व्यक्ति स्वयम्ले मनन् गर्नुपर्ने विषय हो । इन्द्रियजन्य सिकाइ जीवनको महङ्खवपूर्ण अनुभवजन्य सिकाइ हो । आँखाले हेरेर, नाकले सुँघेर, जिब्रोले स्वाद लिएर, कानले सुनेर र छालाले स्पर्श गरेर हुने सिकाइ प्रत्यक्ष सिकाइ हो, इन्द्रियजन्य सिकाइ हो । व्यक्तिले पचास प्रतिशतभन्दा बढी अनुभवबाट सिक्ने गर्छ । भनिन्छ, अनुमानभन्दा बढी अनुभवबाट सिकिन्छ । अनुमान गलत हुन पनि सक्छ, अनुभव भने गलत हुनै सक्दैन । तर, अनुभवको अभिव्यक्ति सही भने हुनै पर्छ । बरु, सिकाइको गति अनुभवबाट अनुमानतिर भने लैजान सकिन्छ । जब मानिसले कुनै नयाँ विषयको सिकाइ गर्छ, यो सिकाइको अनुभूति उसलाई हुनै पर्छ । अनुभूति बिनाको सिकाइ स्थायी हुँदैन, व्यवहारमा परिवर्तन पनि हुन सक्दैन । सिकेका कुराहरू जब अनुभूति हुन पुग्छन्, ती कुराहरू स्थायी हुन्छन्, व्यवहारमा परिवर्तन पनि हुन्छ । यस लेखमा मैले यति पृष्ठभूमि बाँध्नुको उद्देश्य “खुसीको गोरेटो” पुस्तकको अध्ययनबाट अरीतिक किसिमले सिकाइ गरेँ भन्नु नै हो । अब के के सिकेँ भन्ने कुरा यसपछि वर्णन गर्छु ।

भरखरै मैले कृष्णहरि बास्कोटाद्वारा लिखित ‘खुसीको गोरेटो” पुस्तकको अध्ययन गरेँ । कृष्णहरि बास्कोटा यस पुस्तकका लेखक मात्र नभई निजामती सेवाको उच्च तहमा नेतृत्व गरी सेवा निवृत्त व्यक्तित्व हो, साथै राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त भई कार्यसम्पादन पनि गरिसकेको व्यक्तित्व हो । लेखक बास्कोटासँग कतिपय सन्दर्भमा प्रत्यक्ष र कतिपय सन्दर्भमा अप्रत्यक्ष रूपमा मैले पनि सङ्गत गरेको थिएँ । सत्यतथ्य सूचनामा सधैं अद्यावधिक हुने र आफ्ना भनाइमा वाक्पटुवासाथ प्रस्तुत हुने बास्कोटाको विशेषता नै हो । अर्थशास्त्र, प्रशासन र व्यवस्थापन क्षेत्रमा दुई दर्जन जति पुस्तक लेखिसकेका बास्कोटाको “खुसीको गोरेटो” अनुभूतिजन्य आत्मपरक निबन्धको सङ्ग्रह हो । यस सङ्ग्रहमा विभिन्न शीर्षकमा चौबिसओटा निबन्ध सङ्ग्रहीत छन् । यस निबन्ध सङ्ग्रहमा कुनै सिद्धान्तको कुरा गरिएको छैन । विभिन्न विद्वान्का भनाइ, आफ्ना वैयक्तिक र पेसागत अनुभवलाई विभिन्न घटनाहरूको दृष्टान्त दिँदै लेखकले तिनै वैयक्तिक अनुभवलाई आधार मानेर जीवनमा खुशी हुने सूत्रहरू प्रतिपादन गरेका छन् ।

लेखकले ‘आत्मविश्वासको सपना’ मा शीर्षकमा नेपालमा आत्मविश्वास भएका केही सफल व्यक्तिहरूको नाम उल्लेख गरेका छन्ः डा. भगवान् कोइराला, डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, पारस खड्का, महावीर पुन । यी नामहरू आम नेपालीबिच सर्वस्वीकार्य तथा भावी पुस्ताका लागि दृष्टान्त दिन योग्य सूचीमा पर्दछन् । यस्तै, लेखक पौराणिक सपना देख्नै पर्ने सन्देश दिन सफल भएका छन् । पुस्तकको महत्त्वपूर्ण कुरा यस पुस्तकको अर्पण हो । लेखक बास्कोटाले १०० औ वर्षमा प्रवेश गर्नुभएका आफ्ना पिता हरिहर बास्कोटाप्रति पुस्तक अर्पण गरेका छन् । निकै कम नेपालीले मात्र शताब्दीपुरुष हुन पाएका छन् । शताब्दी पुरुष पिताजीको साथ र आशीर्वाद पाउनु लेखकको अहोभाग्यको कुरा हो । शताब्दी पुरुषको पुत्र हुन पाउनु आम नेपालीका लागि अति दुर्लभ अवसर हो । यसका लागि लेखक बास्कोटालाई शुभकामना दिन चाहन्छु । पुस्तक लेखेर हामीलाई पढ्ने मौका पाउनु र लेखकका पिताजीको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्न पाउनु हामी पाठकहरूलाई एक अवसर पनि हो ।

लेखक प्रतिबद्धताप्रति सन्तुष्ट देखिदैँनन् । उनले लेखेका छन्ः कुनै कामप्रति प्रतिबद्धता जनाउनुभन्दा काम गर्नु नै सदैव उत्तम हुन्छ (पृ. ३१) । वास्तवमा नेपालमा अति नै दुरूपयोग भएका केही शब्द छन्ः प्रतिबद्धता, कटिबद्धता, निर्देशन, कार्ययोजना, छुट छैन, विकल्प छैन, पेचिलो आदि । यस्ता शब्द सार्वजनिक प्रशासनमा अधिक प्रयोगका साथै दुरूपयोग भएको छ । बोले पुग्छ, कार्यान्वयन गर्नु पर्दैन । सार्वजनिक सञ्चार माध्यमले पनि “भन्नुभयो” मात्र लेख्छन्, भन्छन् । “गर्नुभयो” भन्ने ठाउँ नै पाउँदैनन्, किनकि भनिएको छ, गरिएको छैन । लेखकले “हामी हिमालको चुचुरो हेरेर मात्रै त्यहाँ पुग्न सक्दैनौँ । चुचुरोमा पुग्न हिँड्न आरम्भ गर्नुपर्छ पृ. ३१)” भनेका छन् । लेखकले यी विचार यत्तिकै भनेका होइन, उनको सार्वजनिक प्रशासन क्षेत्रको अनुभवको उपज हुन् यी विचारहरू । लेखकले जीवनको घुम्ती शीर्षकको निबन्धमा पनि यस्तै कुरा उल्लेख गरेका छन्ः मानिस बोलेर होइन, हिँडेर मात्र तोकिएको गन्तव्यमा पुग्छ (पृ. ५) । जीवनमा सबैभन्दा खुसी व्यक्तिहरू लिनेहरू होइनन्, दिनेहरू हुन् । लेखकले “दानीलाई हुँदैन हानी’ भन्ने भनाइलाई आफ्नो अनुभवसँग विभिन्न दृष्टान्त दिदैँ पुष्टि गरेका छन् । लेखक भन्छन्ः सुखी मानिस त ती हुन्ज सले अरूलाई दिएका छन् (पृ. ३) । यसै प्रसङ्गमा लखेकले भारतका ख्याति प्राप्त दानी व्यक्ति रतन टाटाको ह्विलचियर वितरणको प्रसङ्गलाई बडो रोचक किसिमले उल्लेख गरेका छन् । ‘खुसीको गोरेटो” पुस्तकमा थुप्रै मननीय र प्रेरणादायक अभिव्यक्तिहरू भेटिन्छन् । यस्ता अभिव्यक्तिहरू सङ्ग्रहयोग्य छन् । यस्ता अभिव्यक्तिले हाम्रा भनाइलाई सरल, ओजपूर्ण र हृदयस्पर्शी बनाउन सहयोग गरेको छ । मैले पुस्तकको आद्योपान्त अध्ययन गर्दा मलाई लागेका (अरूलाई थप अन्य पनि लाग्न सक्छन्) केही मननीय वाक्यहरूलाई यहाँ उल्लेख गरिएको छः आफ्नो गन्तव्य पुग्न या सफल हुन चाहन्छौं भने आफैँलाई बदल्नुपर्छ (पृ. ३२) । आफैँले गल्ती गरेर सिक्न मानिसको आयु लामो छैन (पृ. ३८) । हजारौं माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ (पृ. ३८) । मानिस आउँदाको पहिचान लुगाले बताउँछ र जाँदाको पहिचान क्षमताले पुष्टि गर्छ (पृ. ३८) । दिन हिचकिचाउने तर लिन इच्छुक रहने प्रवृत्ति स्वयम्मा घातक हुन्छ (पृ. ४५) । सुखको मार्ग भनेको सत्मार्ग, सत्विचार र सदाचार नै हो (पृ. ५३) । असल नेतृत्व अरूबाट काम सम्पन्न गराउन सक्षम हुन्छ (पृ. ५५) । सार्वजनिक क्षेत्रमा उच्च पदमा आसिन व्यक्ति सदैव त्यागी, रोलमोडेल र सदाचारी एवम् निष्ठावान् हुनुपर्छ (पृ. ५५) । आदर्शवान् र नैतिकवान्क र्मचारी कसैको पनि हुँदैन (पृ. ५५) । अधिकांश परिवारका सदस्यले आफ्नोघरको अभिभावकका रूपमा रहेका मुख्य मानिसको पैसालाई आफ्नोपैसा नै मान्दैनन् (पृ. ६१) । बोल्न बुद्धि भए पुग्छ । तर मौन रहन बुद्धि र विवेक दुवै चाहिन्छ (पृ. ६८) । खुट्टामा जुत्ता छैन भनेर दुःखी नहोऔं । यहाँ कतिपय खुट्टै नहुनेहरू पनि छन् (पृ.६९) । शुभयात्रा भन्नेहरू पनि धेरै हुन्छन् । तर सँगै हिँड्नेचाहिँ कम हुन्छन् (पृ. ७७) । आफ्नो बढाइचढाइ प्रशंसा गर्नेलाई शुभचिन्तक ठान्छौँ । आफ्नो कमी कमजोरी बताइदिनेलाई शत्रु । मानिसले यहीँनेर । ठूलो भूल गर्छ (पृ. १२५) । बोलिरहँदा आफ्नो धोती फुस्किएको पनि चाल पाउँदैनौँ हामी । आफूले बोलेको कुराले अर्कोमा के प्रभाव पारेको छ ? त्यो बुझ्न निकै जरुरी छ (पृ. १३३) । असफलताबाट जे सिकिन्छ त्यसले मानिसलाई परिवर्तन गराउँछ (पृ. १४९) । खारिएको अनुभवबाट मात्रै राम्रो अर्थात् सही निर्णय गर्न संभव छ (पृ. १५३) ।

“खुसीको गोरेटो” पुस्तकमा अङ्ग्रेजी शब्दहरूको प्रयोग प्रशस्त भेटिन्छ । पुस्तकमा प्रयुक्त शब्दहरू अङ्ग्रेजी भए पनि नेपाली भाषामा आगन्तुक शब्द जस्तै भएर आएका छन्, नेपालीको जनजिब्रामा झुण्डिएका छन् । यस्ता शब्दहरू बुझ्न पाठकलाई कत्ति पनि कठिन छैन । बरू, यी शब्दको सट्टामा शुद्ध नेपाली शब्द प्रयोग गरिएको भए कतिपय पाठकलाई अर्थ खोज्न शब्दकोश आवश्यक पर्न सक्थ्यो । देवनागरी लिपिमा लेखिएका यस्ता अङ्ग्रेजी शब्दहरू हुन्ः थ्योरी, एक्स, वाई, पर्फेक्ट, म्यान मेड पर्फेक्ट बाई प्राक्टिस, मनी अट्याक्स मनी, ह्याबिट कम्स फ्रम ह्याबिट, मेसिन, डिटरजेन्ट पाउडर, एफोट्र्स आर अलवेज बेटर देन प्रोमिस, रोलमोडेल, मिसन, इलेक्ट्रिसियन, प्लम्बर, काउन्टर, डस्टबिन, फोटो, चेकआउट, मोबाइल, बेड, टि–टेबल, ट्वाइलेट पेपर, पिच, फ्रोजन, प्याकेट, अर्डर, बाई वान गेट टू,सिडिओ, ब्रेकफास्ट, टिसर्ट, किचन, कम्प्लिेमेन्ट्री, नम्बर, रिसोर्ट, रेस्टुरेन्ट, हाफ पाइन्ट, रेक्टरस्केल, लङ डाइभ, पार्क, ड्राइभर, पार्टनर, विल, काउन्टर, होटल, स्काई इज अनलिमिट, स्टोरेज, ब्याटी, मर्निङ सोज द डे, सार्पनर, सर्भिसिङ, रिचार्ज, ब्ल्याकमेलिङ, मनी इज लस, नथिङ इज लस, हेल्थ इज लस, समथिङ इज लस, क्यारेक्टर इज लस, एभ्रिथिङ इज लस, मिसाइल, एटम बम, गुड, बेटर, बेस्ट, फलोअर्स, ब्याच, सिनियर, भाइस, प्रिसिडेन्ड, फन्ड, इनभेस्टमेन्ट, प्लम्बिङ, कुक, पन्चर, इलेक्ट्रोनिक्स, फ्रिज, सेक्युरिटी, गार्ड, कन्डक्टर, ग्रेडिङ, होम डेलिभरी । लेखकले “खुसीको गोरेटो” पुस्तकमा केही झर्रा शब्दहरू पनि प्रयोग गरेका छन् । यस्ता झर्रा शब्दहरूले विषयवस्तुको प्रस्तुतिलाई रसिलो बनाएको छ । यस्ता झर्रा शब्दहरू हुन्ः ‘तर’ मारेको, दैलो, राँको, कुटी, बत्ती, ननिको, लोटा, सिन्को, नमचरा, कुस्तले, गरीवरी, ताजुबलाग्दो, सुकुलगुन्डा, झुत्रा, सद्दे, चञ्चलाश्री, लाठे, ट्वाँ, हुटहुटी, महसुर, गुम्दा, हेलिए, भोटो, कोया, भस्र्याउने । लोक जीवनमा चलिएका सारपूर्ण कथन वा अनुभवपूर्ण कथन वा लोकोक्ति नै उखान टुक्का हुन् । उखान तुक्काले गहन, विशेष र भाव बोकेको अर्थ दिन्छन् । यिनीहरू वास्तविक अर्थभन्दा भिन्न तर विशिष्ट अर्थ दिने अवस्थामा प्रयोग हुन्छन् । उखान तुक्का तत्क्षणमा निर्माण हुँदैनन् । लामो परम्परागत अभ्यासबाट मात्र यस्ता विशिष्ट पदावधि तथा वाक्यको निर्माण हुने गर्छ । उखान तुक्का अलिखित शोधपत्रका निचोड हुन् । यी हिम नदीको प्रवाहमा खारिएका नदी तटका सुन्दर र चिल्ला ढुङ्गा हुन् ।

लेखक वाक्चातुर्य र वाक्पटुता भएका व्यक्ति पनि हुन् । आफ्ना अभिव्यक्तिमा उखान, तुक्का, भनाइ, दृष्टान्त प्रस्तुत गर्ने उनको विशेषता नै हो । यस्ता प्रयोगले वक्ता तथा लेखकीय भावलाई स्रोता समक्ष पु¥याउन सहज हुने गर्छ । लेखक बास्कोटाले लेखनमा समेत आफ्नो अनुभव र विचारलाई पाठकसँग सम्प्रेषण गर्नका लागि यस पुस्तकमा प्रशस्तै उखान तुक्काको अधिकतम् उपयोग र संयोजन गरेका छन् । पुस्तकभित्र त उखान तुक्काको छेलोखेलो नै छ । जस्तैः दुःख पायौ मङ्गले आफ्नै ढङ्गले, नबिराउनू, नडराउनू, सतीले सरापेको देश, माखो नमार्ने, ढलेको लोटा पनि नउठाउने, सिन्को नभाँच्ने, छुरासरि मुख, शङ्काले लङ्का खान्छ, आफू भलो त जगत् भलो, रिख खा आफू, बुद्धि खा अरू, ल्हासा जाने कुतीको बाटो, खुट्टी देख्दै चाल पाइयो, अर्काको जीउमा जुम्रा देख्ने, आफ्नो आङमा भैंसी हिँडेको पनि नदेख्ने, डोकामा दुध दुहुँदा दुध नअडिने, भुइँको टिप्न खोज्दा खल्तीको खस्नु, माछो भए दुलोभित्र हात, सर्प भए दुलोबाहिर हात, लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ, तिर्खा लागेकाले खोला धाउनु पर्छ, नमरी स्वर्ग

देखिन्नँ, कुहिनोले पहाड ठेल्न सकिन्न, धनले धन बढाउँछ, चिन्नु न जान्नु, घचेडी माग्नु, खुकुरीको चोट अचानोले सहने, समय आउँछ पर्खिदैँन, बगेको खोला फर्किदैँन, अर्काले घोडा चढ्यो भनेर धुरी चढ्नु, बाघको मुख हेर्नुपरे बिरालाको मुख हेर्नू र शत्रुको मुख हेर्न मन लागे दाजुभाइको मुख हेर्नू, सर्पको खुट्टा सर्पले देख्छ, आकाशतिर फर्किएर थुकेमा आफ्नैमाथि पर्छ, न बाच्छाको मुखमा न गाईको थुनमा, बाउन्न ठक्कर त्रिपन्न घुस्सा, बाघको मुख खाए पनि रातै, नखाए पनि रातै, हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात । पुस्तकमा केही नवीन शब्द पनि पढ्न पाइन्छ । लेखकले पुस्तकको पृष्ठ ५१ मा ‘अजासु’ शब्दको प्रयोग गरेका छन् । निजामती सेवामा बारम्बार सुनिने शब्द हो ‘अजासु’ । यसलाई ‘अति जान्ने सुन्ने’ शब्दहरूको सङ्क्षिप्त रूप मान्ने गरिएको छ । यस्ता शब्दले पुस्तक पठनलाई रोचक पनि बनाउँछ । निजामती प्रशासनका क्षेत्रमा प्रयोग हुने ‘जासु’ र ‘५६२’ पनि यस पुस्तकमा उपयोग गरेका भएमा थप रोचक हुन पुग्थ्यो । अर्को शब्द ‘जासु’ हो, यसलाई जान्ने सुन्ने शब्दहरूको सङ्क्षिप्त रूप मान्ने गरिएको छ । कहिलेकाहीँ ‘५६२’ अङ्क पनि प्रयोग भएको सुनिन्छ । यो ‘५६२’ अङ्कलाई अक्षरका जस्तै डिको लगाउँदा ‘पुछर’ हुन्छ भन्थे । लेखकले सार्वजनिक प्रशासनमा ‘अति जान्ने सुन्ने’ ले दैलामा नै आएको खुसीलाई घरभित्र छिर्न नदिने स्वभावका हुन्छन् भनी पृष्ठ ५१ मा उल्लेख गरेका छन् । पुस्तक पढ्न थालेपछि पहिलो शीर्षक पढेपछि पाठक पुस्तकका सबै शीर्षकहरू पढ्न लालायित हुन्छन् । पुस्तक पढ्दै जाँदा कतिपय सन्दर्भमा उपदेशात्मक लाग्न सक्छ । लेखकले दृष्टान्त, अनुभव, भनाइ आदि पस्केपछि ’गर्नुपर्छ’ ‘हुनुपर्छ’ जस्ता क्रियापदहरू प्रयोग गरेकाले पाठकलाई यस्तो अनुभूति हुनु स्वाभाविक नै हो । कतिपय सन्दर्भमा लेखकको प्रस्तुति उपदेश जस्तो लाग्छ, सुझाव जस्तो लाग्छ । तर, लेखकले आगमन विधि उपयोग गर्दै
विभिन्न दृष्टान्त, अनुभव, भनाइ, नीति कथाका माध्यमबाट निचोड निकालेका हुनाले उस्ता निचोडलाई सुझावका रूपमा लिनुपर्छ, पृष्ठपोषणका रूपमा लिनुपर्छ ।

शिक्षण/प्रशिक्षणमा आगमन विधिको उपयोग निकै गरिन्छ । यो लोकप्रिय र शिक्षार्थी केन्द्रित शिक्षण/प्रशिक्षण विधि पनि हो । यस विधिमा सुरुमा सूत्र वा नियम बताइदैँन, बरू शिक्षण/प्रशिक्षकले सिकाउन खोजिएको विषय लक्षित गरी प्रशस्त उदाहरण/दृष्टान्त दिन्छन् र शिक्षार्थीलाई सूत्र वा नियम बनाउन उत्प्रेरित गर्छन् । शिक्षक/प्रशिक्षकले सुरुमा सूत्र वा नियम बताउँदैनन् । अन्त्यमा शिक्षक/प्रशिक्षकले सिकाउन चाहेको विषयवस्तुअनुसारको सूत्र वा नियम शिक्षार्थीको सक्रियतामा तर्जुमा हुन्छ । यसबाट शिक्षार्थीमा अपेक्षित सिकाइ हुन पुग्छ । “खुसीको गोरेटो” पुस्तकमा लेखकले आगमन विधिको प्रचुर उपयोग गरेका छन् । सुरुमा लेखकले आफूले सम्प्रेषण गर्न खोजेको विषयवस्तुलाई तत्कालै बताउँदैनन्, प्रशस्त उदाहरण र दृष्टान्त दिन्छन् । साथै, नीति कथा र वैयक्तिक अनुभव पनि पस्कन्छन् र पाठकलाई खुसी हुने सूत्र खोज्न प्रेरित गर्छन् । अन्त्यमा लेखकले खुसीका सूत्र पनि बताउँछन् । आखिर लेखक कुशल प्रशासक, कुशल वक्ता र कुशल प्रशिक्षक पनि हुन् नि !

आफूले सम्प्रेषण गर्न चाहेको विषयवस्तुलाई लेखकले आगमन विधिको प्रचुर प्रयोग गरेको उदाहरण र त्यसको प्रतिछायाँ “खुसीको गोरेटो’ पुस्तकमा भेटिन्छ । लेखकले वैयक्तिक अनुभव छचल्किने गरी पुस्तकमा पस्केका छन् । अनुभव निम्ठामा छैनन्, चुलुवा नै छन् । लेखकका व्यक्तिगत जीवनका साथै पेसागत जीवनका अनुभव पुस्तकमा प्रशस्तै भेटिन्छन् । यति हुँदा हुदै “खुसीको गोरेटो” आत्मकथा होइन, आत्म वृत्तान्त पनि होइन । न त आत्म प्रसंशा नै हो । लेखकले आफ्ना भनाइलाई पुष्टि गर्न विभिन्न विद्वानहरूको भनाइ, विभिन्न नैतिक दृष्टान्त, विभिन्न नीति कथा र दैनिक जीवनमा गरिने व्यवहारलाई उपयोग गरेका छन् ।

लेखकले सिक्ने र सिकाइ हुने सन्दर्भमा रुसो, प्याभलभ, किम्बल, यङ, एलिस क्रो र बान्दुराका सिद्धान्तका दृष्टान्त उल्लेख गरेका छन् । प्याभलकका अनुसार मानिसले आफ्नै गल्तीबाट सिक्छ (पृ. ५२) । गल्तीबाट सिक्ने र सिकाइ हुने सिद्धान्त प्याभलकको होइन, वास्तवमा लेखकले लेख्न खोजेको प्याभलक नभई प्याभलभ हुनुपर्छ । त्यति हुँदाहुँदै पनि गल्तीबाट सिक्ने र सिकाइ हुने सिद्धान्त प्याभलभको होइन, इभान प्याभलभको सिद्धान्त ‘शास्त्रीय सम्बन्ध प्रत्यार्वतन’ (क्लासिकल कन्डिसनिङ) हो । यो व्यवहारवादी सिद्धान्त हो, यसले सिकाइ उद्दीपक र प्रतिक्रियाबिचको सम्बन्धबाट हुन्छ भनी बताउँछ । लेखकले भन्न खोजेको सिद्धान्त थर्नडाइकको ‘प्रयत्न र भूल’ (टायल एन्ड एरर) हो । यस सिद्धान्तअनुसार व्यक्तिले प्रयत्न गर्दै जानुपर्छ, यस्ता प्रयत्न गर्दै गएपछि गल्ती हुन सक्छन्, गल्तीबाट पाठ सिक्दै सही व्यवहार दोहो¥याउँदै गएपछि सिकाइ हुन्छ भन्ने हो । लेखकले सार्वजनिक सेवामा कार्यरत जनशक्ति अरूको प्रगति देखेर असन्तुष्ट हुने र आफूले प्रगति गर्न नसक्दा निराश हुने गरेको सन्दर्भमा निराश हुनु हुँदैन भन्दै पृष्ठ ५२ मा नै “कसैको लोकमा छैन एकैनास समुन्नति ? अरूको के कुरा हेर, सन्ध्यामा सूर्यको गति” भनेर कविताका दुई हरफ उल्लेख गरेका छन् । तर, यो कुन कविताबाट लिइएको हो, यसका लेखक को हुन् भन्ने कुरा लेखकले उल्लेख गरेका छैनन् । यहाँ स्रोत कवि शिरोमणि लेखनाथ पौडेलको “नैतिक दृष्टान्त” कविताको सन्दर्भसमेत उल्लेख गरिदिनुभएको भए यो टिप्पणी आवश्यक हुने थिएन ।


अरूको लेखन जस्ताको तस्तै उल्लेख गर्दा उक्त लेखनको सन्दर्भ उल्लेख गर्नु अनिवार्य हुन्छ, यसमा लेखकले बिर्सेको जस्तो देखिन्छ । हुनतः निबन्धमा पाद टिप्पणी वा सन्दर्भ सामग्री वा स्रोत सामग्री उल्लेख गरिएको पाइदैँन । यो कृति गैह्रआख्यान भएकाले पाद टिप्पणी वा सन्दर्भ सामग्री वा स्रोत सामग्री उल्लेख गरिदिँदा उपयुक्त हुन्थ्यो । यस्तै, पृष्ठ १३९ मा उल्लेख गरिएको कविता “ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।।” का लेखक राष्ट्रकवि माधवप्रसाद घिमिरेको हो भनी उल्लेख गरिदिनुभएको भए अझ प्रभावकारी हुने थियो । मानिसलाई सधैं सिर्जनशील हुन सुझाएका लेखकले एक विद्वान्को भनाइलाई साभार गरेका छन् । ‘एक विद्वान्ले भनेका छन्, पुरानो कोट लगाऊ, नयाँ किताब किन’ (पृ. ३६) । तर, यो भनाइ कसको हो, खुलाएका छैनन् । एक विद्वान्को भनाइ नभनी हेनरी डेभिड थोरोको भनाइ भनी उल्लेख भएको भए पाठकका लागि थप खुराक पुग्ने अनुमान गर्न सकिन्छ । यसबाट लेखकको दिन खोजेको अभिव्यक्तिलाई पनि थप ढाडस र आधिकारिकता प्राप्त हुन पुग्छ ।

हुनतः नेपाली उखान तुक्का तुर्जमाको समयमा ठिक्कै थिए होलान् । मानिसको ज्ञान, बुद्धि र विश्लेषणात्मक क्षमता बढ्दै गएपछि समाजमा प्रयोग हुने लिङ्ग, धर्म, जात, भाषाप्रति कटाक्ष हुने उखान तथा तुक्कालाई परिमार्जन र संशोधन गर्नु आवश्यक भएको छ । लेखकले आफ्नो भनाइलाई थप स्पष्ट पार्न पृष्ठ ३५ मा ‘लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ्’ उल्लेख गरेका छन् । प्रस्तुत ‘लाटो’ शब्द अपाङ्ग मैत्री होइन, यहाँ ‘लाटो’ शब्दको सट्टा ‘सोझो’ भनेको भए अति सुन्दर हुन्थ्यो । भाषिक प्रयोगको समावेशितामा कतिपय भाषा प्रयोगमा सचेतता अपनाउनुपर्ने हुन्छ ।

पुस्तकको भाषा सरल छ, बोधगम्य छ, विषयवस्तु र भाषा सलल बगेको छ । यदाकदा केही अनुच्छेद अनुशासनमा नबाँधिएको भए पनि पुस्तक पढ्दा पाठकलाई भने असजिलो महसुस हुँदैन । भाषा सम्पादनमा पूरापूर ध्यान नपुगेको होकि भन्ने कुरा पाठकले केही केही ठाउँमा महसुस गर्छ । पुस्तक पठनीय छ, सङ्ग्रहणीय छ, विशेष अवसरमा उपहार दिन मिल्ने छ । पठन संस्कृतिको विकासका लागि पनि यो पुस्तक पाठकहरूले पढ्नैपढ्र्ने छ । आर्थिक विषय, सूचनाको हक, समसामयिक विषयमा सदैव कलम चलाइरहने लेखक बास्कोटाको भिन्न विषयमा लेखिएको “खुसीको गोरेटो” पुस्तकको सफलताको कामना गर्दै भविष्यमा यस्तै अनुभवजन्य तर भिन्न विषयमा लेखिएका पुस्तकको अपेक्षा गरिन्छ ।

कृतिः खुसीको गोरेटो
विधाः निबन्ध (गैह्रआख्यान)
लेखकः कृष्णहरि बास्कोटा
संस्करणः पहिलो, २०८१
पृष्ठः १८८
मूल्यः रु. ४४५/-

प्रतिक्रिया