टेक्सस ड्यालसको माध्यमिक बिद्यालयमा गोलीकाण्ड: ४ विद्यार्थी घाइते, आक्रमणकारी अझै फरार

इनेप्लिज २०८२ वैशाख ३ गते ०:२३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसको विल्मर हचिन माध्यमिक बिद्यालयमा मंगलबार भएको गोलीकाण्डमा चार जना विद्यार्थीहरू घाइते भएका छन्। प्रहरीका अनुसार घटनास्थलमा अहिले सम्म एक जना पनि पक्राउ परेका छैनन् भने तर शंकास्पद व्यक्तिको पहिचान गरिएको छ।

ड्यालस आइएसडि प्रहरी विभागकी सहायक प्रमुख क्रिस्टिना स्मिथले मंगलबार साँझ पत्रकार सम्मेलनमा भनिन्, “हामीले आक्रमणकारीको पहिचान गरिसकेका छौं। अहिले हाम्रो टोली र अन्य निकायहरू मिलेर आक्रमणकारीलाई पक्रन प्रयास गरिरहेका छन्।”

घाइते विद्यार्थीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। कम्तिमा एक जना विद्यार्थीको खुट्टामा गोली लागेको बताइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको स्मिथले बताइन् ।

उनीले बताए अनुसार प्रयोग गरिएको बन्दुक नियमित सुरक्षा जाँच प्रक्रियाबाट पत्ता लागेको थिएन । “यो न हाम्रो कर्मचारीको त्रुटि हो, न त सुरक्षा प्रणालीको असफलता,” स्मिथले स्पष्ट पारिन्, यद्यपि उनले थप विवरण दिइनन्।

एक वरिष्ठ विद्यार्थीले स्थानीय संचार माध्यम डब्लुएफएएलाई बताएअनुसार, उनले दिवा भोजनको समयमा केही गोलीको आवाज सुने र विद्यार्थीहरू डराएर भागिरहेको तथा चिच्याइरहेको देखे। उनी तत्काल कोठामा लुकेका थिए।

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक श्रब्यदृश्य (भिडियो)हरूमा विद्यार्थीहरूलाई बिद्यालय बाट बाहिर निकालिँदै गरेको र धेरै संख्यामा प्रहरी तथा दमकलको उपस्थिति रहेको थियो ।

बिद्यालयकी प्रमुख स्टेफनी एलिजाल्डेले सबै विद्यार्थीहरूलाई अभिभावकसँग पुनर्मिलन गरिएको जानकारी दिइन्। साथै, बाँकी हप्ता बिद्यालय बन्द रहने र मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध गराइने बताइन्।

“आज जे भयो, त्यो अकल्पनीय छ। तर दुर्भाग्यवश, यस्तो घटना अब सामान्यजस्तो भइराखेको छ, जुन हुनु हुँदैन,” उनले दुःख व्यक्त गर्दै भनिन्।

टेक्ससका गभर्नर ग्रेग एबटले पीडितहरूप्रति समवेदना जनाउँदै स्कुल र प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन्।

प्रतिक्रिया