म्यानमार र थाइल्याण्डमा शुक्रबार ७.७ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प जाँदा कम्तीमा एकजनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु म्यानमारको माण्डले भएको जनाएको छ । तर, भूकम्पको झट्काले थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन भवन भत्कँदा ठूलो क्षति भएको छ।
थाइल्याण्डको राष्ट्रिय आपतकालीन चिकित्सा संस्थानका अनुसार उक्त घटनामा ३२० जना निर्माण मजदुरहरूमध्ये ७० जना बेपत्ता भएका छन् भने २० जना लिफ्ट(उत्तोलक ) स्थलमा फसेका छन्। मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्प स्थानीय समयअनुसार दिउँसो १:३० मा जाँदा बैंककका भवनहरूमा चेतावनीको घन्टी बजेको थियो।
राष्ट्रिय प्रहरी बलले भवनहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेको छ। भूकम्पको असरले बैंककको सार्वजनिक यातायात प्रणाली सेवा पनि बन्द भएका छन्।
प्रतिक्रिया