अमेरिकाबाट देश निकाला भएका गिरोह सदस्यहरूलाई मुन्ट्याउदै एल साल्भाडोर झ्यालखानामा लगिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एल साल्भाडोरका राष्ट्रपतिको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
ट्रम्पले आइतबार एल साल्भाडोरलाई धन्यवाद दिएका छन्। उनले राष्ट्रपति नायिब बुकेलेको प्रशंसा गर्दै अमेरिका निष्कासित गिरोह (ग्याङ )सदस्यहरूलाई सल्भाडोरको आतंकवाद कारावास केन्द्रमा राखिएको श्रब्यदृश्य (भिडियो)बारे प्रतिक्रिया जनाए।
बुकेलेले सार्वजनिक गरेको श्रब्यदृश्य (भिडियो)मा सयौं आपराधिक आप्रवासीहरूलाई केन्द्रीय अमेरिकामा उतारिएको देखिन्छ। यीमध्ये धेरैजसो ट्रेन दे आरागुवा तथा एमएस-१३ गिरोहका सदस्यहरू रहेको बताइएको छ। राष्ट्रपति नायिबले सामाजिक संजाल एक्समा २३८ जना भेनेजुएलाका आपराधिक संगठन ट्रेन दे आरागुवाका सदस्यहरु आएको जनाएका छन् ।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार २६१ अवैध आप्रवासीहरूलाई एल साल्भाडोर पठाइएको थियो। तीमध्ये १३७ जनालाई एलियन इनेमिस एक्ट १७९८ अन्तर्गत, १०१ भेनेजुएलीहरूलाई टाइटल ८ अन्तर्गत, २१ जना एमएस -१३ गिरोह सदस्यहरु र २ जना विशेष श्रेणीका एमएस-१३ नेताहरू समावेश गरिएका थिए। अमेरिकामा कपाल झ्याप्ले बनाएका गिरोह सदस्यहरुलाई झ्यालखाना अगाडी नै मुडुलो बनाइएको दृश्य देख्न सकिन्छ ।
न्यायालयको हस्तक्षेप र ट्रम्प प्रशासनको प्रतिक्रिया :
ट्रम्प प्रशासनले विमानहरू अमेरिकी आकाशबाट बाहिरिसकेपछि मात्रै न्यायाधीश जेम्स बोआसबर्गले अस्थायी रूपमा ट्रम्पको आदेश रोक्न आदेश दिएका थिए । अधिकारीहरूले अदालतको आदेश पालना गर्न नसकिने बताउँदै, “हामीले कुनै आदेश अवज्ञा गरेका छैनौं, किनकि विमानहरू पहिले नै अन्तर्राष्ट्रिय आकाशमा थिए,” भनेका छन्।
ह्वाइट हाउसकी प्रेस सचिवक्यारोलिन लिभिटले पनि अदालतको आदेश कानुनी रूपमा अमान्य रहेको बताउँदै ट्रम्प प्रशासनको कदम उचित रहेको जिकिर गरिन्।
एल साल्भाडोरमा गिरोह सदस्यहरूलाई कडा नियन्त्रण :
बुकेलेले निष्कासित ग्याङ सदस्यहरूलाई जिरो आइडल प्रोग्राम अर्थात् शून्य आलस्य कार्यक्रम अन्तर्गत विभिन्न कारागार कार्यशालामा समावेश गरिने बताए। उनका अनुसार हाल एल साल्भाडोरको कारागार व्यवस्थापनमा वार्षिक २०० मिलियन खर्च भइरहेको छ, जसलाई आत्मनिर्भर बनाउन प्रयास भइरहेको छ।
बुकेलेले भने, “हामी संगठित अपराधको अन्त्य गर्न निरन्तर लागिरहेका छौं। यसपटक, हामी आफ्ना सहयोगीहरूलाई पनि मद्दत गर्दैछौं, हाम्रो कारागार प्रणालीलाई आत्मनिर्भर बनाउँदैछौं, र महत्त्वपूर्ण गुप्तचर जानकारी संकलन गर्दैछौं।”
ट्रम्पले बुकेलेलाई समर्थन गर्दै भने, “एल साल्भाडोरलाई धन्यवाद। हामी यो कृतज्ञता बिर्सने छैनौं!”
प्रतिक्रिया